काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।
आफ्नो पार्टी नेतृत्वको अघिल्लो सरकारले तयार पारेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक हुबहु संसदमा पेश गर्नुपर्ने मुख्य मागसहित प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडक आन्दोलनको घोषणा गरेको हो।
डा गोविन्द केसीको जीवनरक्षाका लागि समेत पहल गर्न तयार नभएपछि सरकारविरुद्ध सडक संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुनुपरेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। मंगलबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले तय गरेको घोषित आन्दोलनको कार्यक्रम अनुसार साउन ३ गते संघीय संसद र सातवटै प्रदेशसभाका बैठक अवरुद्ध गर्ने तथा प्रजातन्त्रवादी चिकित्सक संघ र प्रजातन्त्रवादी प्राध्यापक संघको अगुवाइमा काठमाडौंको माइतीघर मण्डलामा सरकार विरुद्ध विरोध प्रर्दशन गरिने छ।
त्यसैगरी साउन ५ गते नेपाल तरुण दलको अगुवाइमा माइतीघर मण्डलामा दिउँसो १ बजे विरोध प्रदर्शन गर्ने तय भएको छ। साउन ६ गते बीपी दिवसका अवसरमा राजधानीमै सरकारका क्रियाकलापलाई लिएर अन्तरक्रिया गर्ने पनि जनाइएकाे छ। साउन ८ गते काठमाडौं उपत्यकाका पार्टीका संगठनहरुको अगुवाइमा माइतीघर मण्डलामै दिउँसो १ बजे सरकारविरुद्ध प्रर्दशन गर्ने कार्यक्रम पनि घोषणा गरिएको प्रवक्ता शर्माले बताए।
शर्माका अनुसार साउन १५ गते ७७ जिल्लाकै सदरमुकाममा प्रदर्शन गर्ने निर्णय भएकाे छ।
सरकारले आफ्नो पार्टी नेतृत्वको सरकारले ल्याएको अध्यादेशको भावलाई तोडेर राष्ट्रिय चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक ल्याएपछि सरकारविरुद्ध सडक संघर्षमा जाने निर्णय गरिएको प्रवक्ता शर्माको तर्क छ।
यसैबीच, कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटगरी गोविन्द केसीको जीवन रक्षाका लागि पहल गर्न सचेत गराएका थिए।
नेपाली कांगे्रसले सरकारले महंगी नियन्त्रण नगरेको, काठमाडौंको विभिन्न स्थानमा लोकतान्त्रिक मूल्य, मान्यता विपरित निषेधित क्षेत्र तोक्ने निर्णय गरेकोसहितका माग राख्दै सदन अवरुद्ध गर्दै आएको थियो भने उसका भातृ संगठनहरुले सरकारविरुद्ध सडक आन्दोलन गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।