नेपालगन्ज– नेपाल र भारतका सुरक्षा अधिकारीहरुले बाढी र डुबानबाट हुने क्षतिलाई कम गर्न दुबै देशका सुरक्षा अधिकारीहरुबीच सूचना आदानप्रदान तथा सहकार्य गर्ने सहमती गरेका छन्।
बाँके, बर्दिया र दाङ तथा सीमावर्ती भारतीय जिल्लाहरु बहराइच र श्राबस्तीका सुरक्षा अधिकारीहरुबीच भएको संयुक्त सीमा समन्वय समितिको बैठकमा यस्तो सहमति भएको हो। बैठक भारतको बहराइचको नानपारमा बसेको थियो।
सडक बाँध र ब्यारेजका कारण नेपाली भू–भाग डुबानमा पर्ने विषय नेपाली सुरक्षा अधिकारीहरुले बैठकमा उठाएका थिए। सो सम्बन्धमा भारतीय सुरक्षा अधिकारीहरुले राखेको बाढी आएका बेला लक्ष्मणपुर ब्यारेजका ढोका खोल्ने र पानीको सहज निकाश गराई बाढी तथा डुबानबाट हुने क्षति कम गर्न सूचना आदानप्रदान र सहकार्य गर्ने प्रस्तावमा सहमति जुटेको हो।
बाँकेको दक्षिणी सीमावर्ती क्षेत्रमा भारतले पानीको प्राकृतिक बहाव रोक्ने गरी बनाएको करिब २२ किलोमिटर लामो ५ फिट अग्लो सडक बाँध (एफलक्स बन्ड) तथा लक्ष्मणपुर ब्यारेजका कारण नेपाली भू–भाग डुबानमा पर्दै आएका छन्।
बैठकमा नेपाली सुरक्षा अधिकारीहरुले सडक बाँध निर्माण भएका क्षेत्रमा पनि पानीको निकाशका लागि पर्याप्त संख्यामा कलभर्डहरु राख्ने व्यवस्था मिलाउन भारतीय सुरक्षा अधिकारीहरुलाई आग्रह गरेपछि उनीहरुले त्यस विषयमा सम्बन्धित निकायमा जानकारी गराउने प्रतिबद्धता जनाएका छन्।
नेपाल–भारत संयुक्त सीमा समन्वय समितिको बैठकमा आतंकवाद, लागूऔषध, हतियार, बाढी, डुबान, सीमा सडक, काठ तस्करी, वन्यजन्तु चोरी शिकारी, मानव तस्करी लगायत विषयमा छलफल भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बताए।
बैठकमा सिमा क्षेत्रमा भारत विरोधी आतंकवादी गतिविधि हुनसक्ने जनाउँदै भारतका तर्फबाट नेपाली टोलीलाई ध्यानाकर्षण गराइएको थियो। त्यसैगरी भारतीय क्षेत्रबाट नेपालतर्फ काठ तस्करी हुने गरेको जनाउँदै त्यसलाई रोक्न पनि भारतीय पक्षले आग्रह गरेको थियो।
बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी, प्रहरी उपरिक्षक टेक बहादुर तमाङ, सशस्त्र प्रहरी बाँकेका एसपी फणिन्द्र पौडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ, प्रहरी उपरिक्षक कृष्ण कोइराला, दाङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद आचार्य, प्रहरी उपरिक्षक राम प्रसाद घर्तीमगर लगायतका सुरक्षा अधिकारीहरु सहभागी थिए।
भारतका तर्फबाट बहराइचकी डिएम माला श्रीवास्तव, बहराइचका पुलिस अधीक्षक सभाराज लगायतका अधिकारीहरु सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।