पोखरा– केन्द्रीय सरकारले इन्टरनेट सेवा शुल्कमा कर थप गरिरहँदा पोखराका विभिन्न स्थानमा ओपन वाइफाइ सुरु भएको छ।
माइफाई कम्युनिकेसन प्रालि काठमाडौंले पोखराका ६ ठाउँमा ओपन वाइफाइ सेवा सञ्चालनमा ल्याएको हो। महानगरभित्र लेकसाइडको तालबाराही मन्दिर र पैदलमार्ग परिसर, पृथ्वीचोक, चिप्लेढुंगा, पोखरा टुरिस्ट बसपार्क र जनप्रिय क्याम्पस परिसरमा वाइफाइ सेवा सुरु गरिएको हो।
ओपन वाइफाइ पोखराका अन्य स्थानमा पनि क्रमशः सञ्चालनमा ल्याइने उक्त कम्पनीका प्रबन्ध निर्देशक नवराज श्रेष्ठले जानकारी दिए।
ओपन वाइफाइ सुविधा प्रयोग गर्न आफ्नो मोबाइलको वाइफाइ सेटिङमा गएर ‘माइफाइ जोन’ नाम रहेको एस–एस आइडीमा क्लिक गरी आफ्नो विवरण तथा सेक्युरिटी तह पार गरी लगइन गर्नुपर्नेछ। प्रयोगकर्ताले ३ सय ८४ केभीदेखि ५ सय १२ केभीको अनुपातमा इन्टरनेटको मजा लिन सक्नेछन्।
स्मार्ट टुरिज्म तथा डिजिटल नेपाललाई लक्षित गरी हाल पोखरामा मात्रै सञ्चालनमा ल्याइए पनि भविष्यमा देशका अन्य भूभागमा समेत ओपन वाइफाइ ल्याउने तयारी भइरहेको प्रबन्ध निर्देशक श्रेष्ठले बताए।
‘काठमाडौं, स्याङ्जा तथा अन्य स्थानमा पनि विस्तार गर्ने योजना छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।