काठमाडौं– युरोप भ्रमणका लागि नेपालले राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको छ।
आइसिसी प्रतिनिधि अनिमुल इस्लाम, क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान परास खड्काको छनोट समितिले १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको हो।
टिममा विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेलले पुनरागमन गरेका छन्। यता विनोद भण्डारी, प्रदीप ऐरी, सुनील धमला र सुसन भारी भने वैकल्पिक खेलाडीका रुपमा मात्र अटाएका छन्। प्रारम्भिक टिममा रहेका हरि चौहान क्षेत्री भने अटाएनन्।
खकुरेलले झन्डै तीन वर्षपछि राष्ट्रिय टिममा स्थान पाएका हुन्। सुरुमा फर्ममा नरहेका खकुरेललाई त्यसपछि चोटले सताएको थियो।
खकुरेलले गत जेठमा भएको प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेलेका थिए। त्यसपछि उनी राष्ट्रिय टिमको प्रारम्भिक टिममा अटाउन सफल भएका थिए।
१० दिन अभ्यासपछि घोषणा गरिएको टिममा अटाएपछि खकुरेलले खुसी व्यक्त गरेका छन्। 'लामो समयपछि राष्ट्रिय टिममा स्थान पाउदा खुसी लागेको छ। समर्थन गर्ने सबैलाई धन्यवाद दिन चहान्छु,' खकुरेलले नेपाल लाइभलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने।
खकुरेलले पछिल्लो पटक नेपाली टिममा गत नोभेम्बर २०१५ मा खेलेका थिए। विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत पपुवा न्युगिनीबिरुद्धको खेलमा उनी नेपाली जर्सीमा मैदान उत्रिएका थिए। सो खेलमा उनी डकआउट भएका थिए। त्यसपछि उनी राष्ट्रिय टिममा आउटन सकेनन्।
२ वर्षअघि इंग्ल्यान्डको लड्समा भएको मैत्रीपूर्ण खेलमा टिममा भएपनि सुवासले खेल्न पाएका थिएनन्। यद्यपी त्यो खेल अफिसियल होइन। नेपालका लागि पहिलो श्रेणीका ८ खेल खेलेका सुवासको उच्च स्कोर ६३ हो। २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा सुवासले नेपालको तर्फबाट ओपनिङ गर्दै उत्कृष्ट खेलेका थिए। उनी टी–२० विश्वकपमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी हुन्।
नेपालले आगामी साउन १३ गते इंल्याण्डको लर्डस् क्रिकेट मैदानमा त्रिकोणात्मक टी-२० सिरिज खेल्नेछ। मेरिलबोन क्रिकेट क्लब (एमसीसी), नेपाल र नेदरल्याण्ड्सबीचमा टी-२० सिरिज हुन लागेको हो। तीन टिमले एक अर्कासँग प्रतिस्पर्धा गर्नछन्। शीर्ष दुई टोलीले उपाधिकात त्यहि लागि प्रतिस्पर्धा गर्नेछन्। पहिलो खेल बिहान र फाइनल खेल साँझ हुनेछ।
३ दिनपछि नेपालले एकदिवसीय खेलमा डेब्यू गर्नेछ। नेदरल्यान्ड्सविरुद्ध २ खेलको सिरिज खेल्दै नेपालले एकदिवसीय खेलमा डेब्यू गर्नेछ। खेल आगामी साउन १६ र १८ मा नेदरल्यान्ड्समा हुनेछ।
नेपालले गत चैत १ मा एकदिवसीय मान्यता पाएको थियो। नेपालले सन् २०१६ पछि नेदरल्यान्ड्स भ्रमण गर्न लागेको हो। डब्लुसिएल च्याम्पियनसिपअन्तर्गत भएको २ खेलमा दुवै टिमले समान १–१ खेलमा जित हात पारेका थिए।
नेपाली टिम बिहीबार इंग्ल्यान्ड प्रस्थान गर्ने कार्यक्रम छ।
नेपाली टिम
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल
वैकल्पिक खेलाडी – विनोद भण्डारी, प्रदीप ऐरी, सुनील धमला र सुसन भारी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।