टुरिन– पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्ट्सको जर्सी सार्वजनिक गर्दै 'आफ्नो उमेरका खेलाडीहरु कतार र चीन जाने' गरेको बताएका छन्। ३३ वर्षीय रोनाल्डोले आफू करिअरको अन्तिम क्षणमा आउदा पनि इटालियन क्लबमा आबद्ध हुन पाउदा खुसी लागेको बताए।
'करियरको यो अवस्थामा युभेन्ट्समा आबद्ध हुन पाउँदा खुसी लागेको छ,' उनले भने। उनले आगामी सिजनको च्याम्पियन लिगको उपाधि युभेन्ट्सलाई जिताउने आसा व्यक्त गरे। 'म जित्न चहान्छु,' उनले भने, 'उत्कृष्ट खेल्न चाहान्छु। जसले फेरी फिफा वर्ष खेलाडीको अवार्ड जित्न सकुँ।' उनले म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडमा हुँदा जित्न कठिन हुने अनुभव गरेको बताउँदै इटालीमा पनि त्यस्तै उनले अपेक्षा गरे।
रोनाल्डो गत साता युभेन्ट्समा आबद्ध भएका थिए। स्पेनिस फुटबल क्लब रियल म्याड्रिडमा रहेका उनी ९९.२ मिलियन पाउन्ड (१४ अर्ब ४३ करोड रुपैयाँ) मा युभेन्ट्समा आबद्ध भएका थिए।
३३ वर्षीय रोनाल्डोले इटालियन च्याम्पियनसँग ४ वर्षको सम्झौता गरेका थिए।
यसअघि रियल म्याड्रिडमा रोनाल्डोले ९ सिजन बिताएका थिए। त्यस क्रममा उनले रियललाई चार पटक च्याम्पियन्स लिगको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए। योसँगै रोनाल्डो विश्वका चौथो महँगा फुटबलर बनेका थिए। सर्वाधिक महँगा फुटबलर ब्राजिलियन फरवार्ड नेइमार हुन्। उनी गत सिजन स्पेनिस क्लब बार्सिलोनाबाट २ सय मिलियन पाउन्डमा फ्रेन्च क्लब पिएसजीमा आबद्ध भएका थिए।
दोस्रो महँगा खेलाडी फ्रान्सका केलियन एमबाप्पे हुन्। एमबाप्पेले फ्रेन्च क्लब मोनाकोबाट पिएसजीमा १ सय ६६ मिलियन पाउन्डमा आबद्ध हुन सम्झौता गरेका थिए। तेस्रो महँगा खेलाडी ब्राजिलका फिलिप काउटिन्हो हुन्। उनी इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोनामा १ सय ४२ मिलियन पाउन्डमा आबद्ध भएका थिए।
रोनाल्डोले रियलबाट ४ सय ३८ खेलमा ४ सय ५० गोल गरेका थिए। रियलका लागि उनले च्याम्पियन्स लिगमा १ सय ५ गोल गरेर कीर्तिमान बनाएका थिए। ला लिगमा भने उनले ३ सय ११ गोल गरे। रियलका लागि उनले १६ उपाधि जिते। जसमा २ ला लिगा र ४ च्याम्पियन्स लिगको उपाधि समावेश छन्। उनले रियलका लागि ४४ ह्याट्रिक गरे भने ला लिगामा ३४ ह्याट्रिक गरेका थिए। उनले सन् २०१४–१५ सिजनमा रियलका लागि ४८ खेल खेल्दै ६१ गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।