काठमाडौं– १८ दिनदेखि जुम्लामा अनशनरत डा गोविन्द केसी पक्षमा जनसमर्थन बढ्दै गएपछि सरकारले गठन गरेको वार्ता टोली आन्दोलन तुहाउने चाल रहेको देखिएकाे छ ।
सरकारद्वारा गठित वार्ता टोलीका सदस्यले उनका मागलाई भन्दा पनि जुम्लाबाट रेस्क्यु र उपचारका विषयमा कुरा गर्न आफूलाई पठाइएको बताएका छन्। त्यसपछि डा केसी पक्षधर वार्ता छाडेर हिँडेका छन्।
डा केसी पक्षबाट वार्ताटोलीमा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार सरकारी वार्ता टोलीले डा केसीलाई ‘सत्याग्रही’ नभइ ‘बिरामी’का रुपमा लिएको पाइएको छ । उनले भने, ‘वार्ता टोलीमा रहनुभएकाहरुले उहाँको रेस्क्यु र उपचारका विषयमा मात्रै आफूलाई कुरा गर्ने अधिकार भएको बताउनुभएको छ । बाँकी कुरा राजनीतिक भएकाले आफूसँग ‘म्यान्डेट’ नरहेको बताउनुभयो ।’
सरकारी टोलीबाट यस्तो आशय आएपछि डा केसी पक्षधर वार्ता स्थलबाट निस्किएको थियो । सरकार डा केसीका माग र स्वास्थ्य प्रति गम्भीर नभएको डा केसी समर्थकले बुझेका छन् । सरकारका तर्फबाट वार्ता टोली गठन गरेको देखाएर आन्दोलन कमजोर बनाउने रणनीति लिएको उनीहरुको ठहर छ । ‘म्यान्डेट’ नभएको वार्ता टोलीसँग कुराकानीको अर्थ नभएको भन्दै डा केसी पक्षधरले तत्कालका लागि वार्ताको सम्भावना नरहेको जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।