काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) क्रिकेट टिमका कप्तान रोहन मुस्ताफाले एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन्। सोमबार जारी गरिएको प्रेस विज्ञप्ति अनुसार मुस्ताफा काठमाडौं किंग्स इलाभेनमा आबद्ध भएका हुन्।
आगामी मंसिरमा हुने इपिएल क्रिकेटका लागि काठमाडौंमा आबद्ध भएका मुस्ताफा दोस्रा विदेशी खेलाडी हुन्। यसअघि आयरल्यान्डका अलराउन्डर केभिन ओब्रेन पनि काठमाडौं किंग्स इलाभेनमा आबद्ध भएका थिए। दुबै खेलाडीको सम्झौता रकम भने खुलाइएको छैन।
मुस्ताफाले गत चैतमा भएको धनगढी प्रिमियर लिग खेलेका थिए। घरेलु टिम चौराह धनगढीमा आबद्ध उनी म्यान अफ दि सिरिज भएका थिए। चौराहाले डिपिएलको उपाधि लगातार दोस्रो पटक जित्दा मुस्ताफाको प्रेरणादायी प्रदर्शन थियो। मुस्ताफाले डिपिएलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा चौथो स्थानमा रहेका मुस्ताफाले ७ इनिङमा १ सय ९८ रन जोडेका थिए। बढी विकेट लिने खेलाडीमा छैटौं स्थानमा रहेका उनले ६ इनिङमा ९ विकेट लिएका थिए।
युएईका लागि ५० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका मुस्ताफा एसोसिएट टिमका उत्कृष्ट खेलाडी मानिन्छन्।
ब्याटिङ अलराउन्डर मुस्ताफाले गत महिना ग्लोबल टी–२० क्यानडा समेत खेलेका थिए। 'मुस्ताफा देब्रे हाते ब्याट्सम्यान र दायाँ हाते स्पिनर हुन्। उनी राम्रा अलराउन्डर हुन्। अर्कोतर्फ उनी नेपालमा खेल्न मन पराउँछन्,' काठमाडौंका सिओओ राजजंग थापाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।