जाजरकोट- जाजरकोटमा एक हजार ४६० बालबालिका जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ।
सोमबार जिल्लाका ७ वटा स्थानीय तहबाट संकलन गरिएको तथ्यांक सार्वजनिक गर्दै महिला तथा बालबालिका कार्यालयले यो विवरण पेश गरेको हो। बालकभन्दा बालिकाको संख्या बढी जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ। ६७४ बालक र ६९५ बालिका जोखिममा रहेको महिला तथा बालबालिका कार्यालयका प्रमुख शकुन्तला आचार्यले जानकारी दिइन्।
यस्ता बालबालिका बारेकोट गाउँपालिकामा १६० जना, जुनिचाँदे गाउँपालिकामा ५५७ जना, शिवालयमा ११८ जना, छेडागाड नगरपालिकामा १६४ जना, नलगाड नगरपालिकामा २३६ जना, भेरी नगरपालिकामा २०६ जना र कुशे गाउँपालिकामा १९ जना रहेको आचार्यले जानकारी दिइन्। यति ठूलो मात्रामा जोखिममा रहेका बालबालिकाको संख्या भए पनि स्थानीय सरकारद्वारा कुनै सहयोग नभएको पाइएको छ।
आमाबाबु नभएका, सडक बालबालबालिका, आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई जोखिममा परेका बालबालिका भनेर चित्रित गरिएको छ।
कुशे गाउँपालिका भित्रका सबै वडामा तथ्यांक संकलन नभएका कारण जोखिममा परेका बालबालिकाको संख्या बढ्न सक्ने महिला तथा बालबालिका कार्यालयले जनाएको छ। यो आवमा ३४ जना बालबालिकालाई उद्धार गरिएको कार्यालयले जनाएको छ।
यस्ता अशक्त, जोखिममा परेका बालबालिकालाई शिक्षा, खाना र आवासका लागि स्थानीय सरकारले कुनै पनि खालको वजेट विनियोजन नगरेको सरोकारवाला निकायको आरोप छ। आजदेखि जिल्लामा महिला तथा बालबालिका कार्यालय नै नरहने भएपछि तथ्यांक संकलनको कामसमेत प्रभावित हुने देखिन्छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।