काठमाडौं- जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ दिनदेखि आमरण अनसनमा रहेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। सेप्सिसको उच्च जोखिममा रहँदै आएका डा केसीको स्वास्थ्य अवस्था हिजोबाट अचानक थप जटिल बनेको उनको हेरचाहमा संलग्न चिकित्सकहरुले जनाएका छन्।
'अचानक छातीमा असह्य पीडा र सास फेर्न गार्हो भएपछि डा केसीले सहयोगका लागि आग्रह गर्नु भएको थियो,' डा केसीको हेरचाहमा संलग्न डा धीरज गुरुङले भने, 'सो अवस्थामा मेडिकल टिमले जाँच गर्दा, रगतमा अक्सिजनको मात्रा ६०, श्वासप्रश्वासको गति ४० र मुटुको गति १२० को हाराहारीमा पुगेको थियो।'
केसीको इसिजीमा 'एक्टोपिक बिट्स' पनि देखिन थालेको छ। रगतमा इलेक्ट्रोलाइट्सको घटबढ भएपछि मुटुको चालमा परिवर्तन भई यस किसिमका एक्टोपिक बिट्स देखिने चिकित्सकहरु बताउँछन्। 'यसरी मुटुको चाल परिवर्तन हुनु खतराको संकेत हो,' डा गुरुङ भन्छन्, 'यस किसिमका चाल आइरहेमा बिरामीको मुटु जुनसुनै बेला पनि बन्द हुन सक्छ।'
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा पूजन रोकायाका अनुसार अस्पतालले इमर्जेन्सी म्यानेजमेन्टका लागि उपकरण र औषधिहरु तयारी अवस्थामा राखे पनि डा केसीलाई सेप्सिस भएमा वा धड्कन बन्द भएर आइसियूमा राख्नुपर्ने अवस्था आएमा अर्को सुविधासम्पन्न अस्पतालमा रिफर गर्नुपर्ने हुन सक्छ।
यसैबीच, सरकारी वार्ता टोली र डा गोविन्द केसी पक्षबीच भएको वार्तामा पहिलो बुँदामै कुरा नमिलेपछि सोमबार अबेर बसेको वार्ता विनानिष्कर्ष सकिएको छ।
शिक्षा मन्त्रालयमा भएको वार्तामा डा केसीले उठाएको प्रमुख माग चिकित्सा शिक्षा विधेयक अध्यादेश अनुसार नै आउनुपर्ने विषयमा छलफल केन्द्रित भएको थियो। वार्तामा डा केसी पक्षधरले संसदमा दर्ता भएको विधेयक फिर्ता लिएर अध्यादेश अनुसारको विधेयक दर्ता गराउनुपर्ने अडान राखेका थिए।
डा केसीको पक्षबाट वार्तामा सहभागी डा अभिषेक सिंहका अनुसार विधेयकका विषयमा प्रधानमन्त्रीसँग छलफल गरेपछि मात्र कुरा हुने भएपछि वार्ता टुंगिएको हो।
‘सरकार अझै पनि गम्भीर देखिएको जस्तो लागेन’, उनले भने, ‘उहाँहरुले डा केसीलाई काठमाडौं ल्याउने विषयमा मात्र बढी चासो दिनुभयो। हामीले डा केसी अध्यादेश अनुसारको विधेयक नआएसम्म काठमाडौं नआउने जानकारी गराएपछि मंगलबार फेरि बस्नेगरी वार्ता सकिएको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।