काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवालाई पार्टीको विधि र विधान अनुसार चल्न चेतावनी दिएको छ।
वरिष्ठ नेता पौडेल पक्षको सोमबार काठमाडौंमा बसेको भेलाले पार्टीको विधि, विधान र नियमावलीमा गरिएको व्यवस्था अनुसार चल्न सभापति देउवालाई चेतावनी दिएको हो। सभापति देउवा मनपरी ढंगले चलेको निष्कर्ष निकाल्दै पार्टीको विधि र विधान अनुसार चल्न सचेत गराइएको पौडेल पक्षका नेता अर्जुननरसिंह केसीले जानकारी दिए।
बैठकले सभापति देउवाले विधान विपरीत प्रदेशमा तदर्थ समिति गठन गरेकोमा आपत्ति जनाउँदै त्यसलाई स्वीकार गर्न नसकिने पनि स्पष्ट पारेको छ।
भेलाले सभापति देउवालाई तत्काल भ्रातृ संगठनहरुको महाधिवेशन गर्न पनि दबाव दिएको छ। भ्रातृ संगठनहरुको महाधिवेशन नगरेर सभापति देउवाले मनपरी गरिरहेको आरोप पौडेल पक्षले लगाएको छ।
सबै प्रदेशमा विधानमा स्पष्ट व्यवस्था भए बमोजिम प्रदेश समिति गठन गर्न पनि सभापति देउवाको गम्भीर ध्यानाकर्षण गराएको नेता केसीले बताए।
पौडेल पक्षले सभापति देउवाले तत्काल पहल नगरे पार्टीलाई पुनर्जीवन दिन कठिनाइ हुने निष्कर्ष पनि निकालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।