काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा सुधारका लागि अनसनरत डा गोविन्द केसीको माग सम्बोधन गरी जीवनरक्षाका लागि तत्कालै अग्रसरता लिन सरकारसँग माग गरेका छन्।
सोमबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले डा केसीको स्वास्थ्य स्थिति नाजुक बन्दै जाँदा पनि सरकार वार्ता मार्फत समाधानका लागि संवेदनशील नहुनुलाई आफूले गम्भीर रुपमा लिएको उल्लेख गरेका छन्।
आफू नेतृत्वको अघिल्लो सरकारले चिकित्सा शिक्षा विधेयकलाई अध्यादेश मार्फत जारी गरेको स्मरण गराउँदै देउवाले अहिले देखिएको समस्या समाधानको उपाय पनि सुझाएका छन्।
'डा केसीसँगको वार्ता, सरोकारवालाहरुसँगको छलफल, माथेमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन एवं आम नागरिकको भावनालाई मध्यनजर राखेर जारी त्यो अध्यादेशकै हुबहु विधेयक प्रस्तुत गर्नु नै विद्यमान जटिलताको विवेकसम्मत हल हुने मेरो दृढ निष्कर्ष छ', विज्ञप्तिमा उल्लेख छ।
सभापति देउवाले शासन सञ्चालनका क्रममा सरकारले विवेक नअपनाउँदा त्यसले गम्भीर दुर्घटना निम्त्याउने भन्दै डा केसीको जीवनमा तलमाथि हुन सक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले नियतवश गरिरहेको आशंका उब्जिएको समेत टिप्पणी गरेका छन्।
'अप्रिय घटना भएका खण्डमा सम्पूर्ण दोषको जिम्मेवारी सरकारको हुने मात्रै होइन', विज्ञप्तिमा लेखिएको छ, 'चिकित्सा शिक्षामा सुधारको अभियानप्रति नै गम्भीर घात हुने चेतावनी समेत दिन चाहन्छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।