ललितपुर– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि करिब ४ अर्ब ६१ करोडको बजेट पारित गरेको छ।
महानगरपालिकाको दोस्रो नगरसभाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ६० करोड ७२ लाख ८७ हजार रुपैयाँ बजेट पारित गरेको हो। नगरसभाले पारित गरेको निर्णय सोमबार मेयर चिरिबाबु महर्जनले एक कार्यक्रमका बीच सार्वजनिक गरे। महानगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा चालू आर्थिक वर्षमा पुँजीगततर्फ ९८ लाख र चालूतर्फ ४९ लाख २० हजार विभिन्न शीर्षकमा रकमान्तर गरिएको उल्लेख गरिएको छ।
महानगरपालिकाले चालू आर्थिक वर्षको चैतभन्दा अगाडि असुल गरेको घर बहाल कर तत्काल फिर्ता गर्न पनि नेपाल सरकारसँग माग गरेको छ। स्थानीय कर नेपाल सरकारले लिन नपाउने व्यवस्था अनुसार चैत अगाडि असुल गरिएको घर बहाल कर तत्काल उपलब्ध गराउन सरकारसँग माग गरिएको मेयर महर्जनले जानकारी दिए।
महानगरपालिकाले वडालाई विकासको केन्द्रविन्दु बनाउने अभियान चलाउने योजना पनि अघि सारेको छ। महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रममा ‘एक घर एक उद्यम’ को अवधारणा पनि अघि सारिएको छ। त्यसैगरी महानगरपालिका क्षेत्रभित्रका भूकम्प प्रभावितहरुको लाभग्राहीको नाम सूचीमा समावेश भएका व्यक्तिलाई ३ हजार वर्ग फुटसम्मको क्षेत्रफलको नक्सापास दस्तुर मिनाहा गरिएको पनि मेयर महर्जनले बताए।
मापदण्ड विपरीत निर्माण भएका भवनहरुलाई पनि करको दायरामा ल्याउने योजना अघि सारिएको छ।
महानगरपालिकाले खानेपानी व्यवस्थापनका लागि पानी बोरिङको वैज्ञानिक अध्ययन गर्ने निर्णय पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।