काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत वर्ष पार्किङको ठेक्का वार्षिक डेढ करोड रुपैयाँमा लागेको थियो। तर, विमानस्थल कार्यालयले विमानस्थलको ५० रोपनी जग्गा भने त्योभन्दा आधा सस्तो अर्थात् ७० लाख रुपैयाँमा दिएको छ।
हाल विमानस्थलको मुख्य प्रवेशद्वार (गोल्डेनगेट) छेउमा भवन निर्माण भइरहेको जग्गा वार्षिक जम्मा ७० लाख रुपैयाँमा लिजमा दिइएको हो। जुन भवन विगत ५ वर्षदेखि त्रिभुवन विमानस्थलबाट सुन तस्करी गर्दै आएका भारतीय नागरिक विमल पोद्दारको समूहले बनाउँदै आएको छ।
मिलेमतोका आधारमा निकै सस्तोमा विमानस्थल कार्यालयले जग्गा लिजमा दिइएको विमानस्थल स्रोत बताउँछ। २०६९ कात्तिक २ गते विमानस्थल कार्यालयले रसुवा जेभी निर्माण सेवासँग सम्झौता गरेको थियो।
करिब ८ सय कार अट्ने पार्किङसहितको भवन निर्माणमा लागि जग्गा लिजमा दिइएको हो। जहाँ पार्किङबाटै सो कम्पनीले वर्षमा एक करोडभन्दा धेरै कमाउने सम्भावना छ। सो कम्पनीले बनाइरहेको पार्किङ सञ्चालनमा आएपछि विमानस्थलको माथिल्लो भागमा पार्किङ पूर्णरुपमा रोक्न लागिएको छ।
त्यस्तै, भवनबाट सो कम्पनीले करोडौं उठाउनेछ। त्यहाँ बैंक, एयरलाइन्स, ट्राभल एजेन्सी, रेस्टुरेन्ट तथा अन्य पसलहरु सञ्चालनको तयारी भइरहेको छ। कम्पनीले करोडौं कमाउने भए पनि विमानस्थल कार्यालयले भने त्यसबाट थोरै मात्र आम्दानी गर्नेछ।
‘विमानस्थलको जग्गामा व्यापारीहरुले राज गर्न लागेका छन्’, विमानस्थल कार्यालयका एक अधिकारी भन्छन्, ‘विमानस्थलभित्र व्यापारीलाई भवन सञ्चालन गर्न दिँदा एकातर्फ सुरक्षाको जोखिम त छँदै छ, त्यसका साथै विमानस्थलको सम्पत्तिमा व्यापारीहरुले रजाइँ गर्ने देखिन्छ।’
विमानस्थलभित्रै अहिले एउटै पसलको भाडा वर्षमा ३ करोड रुपैयाँसम्म उठ्ने गरेको छ। डिपार्चरको ‘वेटिङ’ कक्षमा व्यवसायी सुवास श्रेष्ठले ३ वर्षका लागि ९ करोड भाडा तिर्ने सम्झौता गरेर पसल चलाइरहेका छन्। तर, ५० रोपनी जग्गा ७० लाख रुपैयाँमा दिनु आश्चर्यजनक भएको विमानस्थलकै कर्मचारीहरु बताउँछन्।
विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्री भने ६ वर्षअघिकै ठेक्का भएकाले सम्झौताको विषयमा आफूलाई धेरै थाहा नभएको बताउँछन्।
ठूला नेता तथा शक्तिकेन्द्रका व्यक्तिहरुको दबावमा सो ठेक्का दिइएको स्रोत बताउँछ। जग्गा लिज र भवन निर्माणमा पोद्दारसहित व्यापारी दीपक मल्होत्रा र कांग्रेस सांसद मोहन आचार्यको लगानी छ। सम्झौता भएकै वर्षदेखि कम्पनीले भाडा तिर्नुपर्ने भए पनि ६ वर्षयता एक रुपैयाँ पनि तिरेको छैन।
सो भवन निर्माण गर्ने व्यापारी पोद्दार हाल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा छन्। विशेष अनुसन्धान टोलीसँगको बयानमा उनले धेरैतिर सेटिङ मिलाएर विमानस्थलको जग्गाको ठेक्का पाएको बताएका छन्।
पोद्दारको बयानका आधारमा विशेष अनुसन्धान टोलीले उनका साझेदारहरुमाथि पनि अनुसन्धान गरिरहेको छ। सुन तस्करका अभियुक्तलाई नै विमानस्थलमा भवन निर्माण गरी सञ्चालन गर्न लागिएकोबारे टोलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई समेत जानकारी गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।