रवात- अधिकारवादी र नेताहरुलाई जेल सजाय गरेको विरोधमा मोरक्कोमा प्रदर्शन भएको छ।
मोरक्कोको राजधानी रबातमा आइतबार भएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी भएका छन्। उनीहरुले ती अधिकारवादी र नेताहरुलाई जेलमुक्त गर्न माग गर्दै नाराबाजी गरेका थिए। उनीहरुले आफ्नो देशमा अदालतले नै अन्याय गरेको टिप्पणी गरेका छन्।
सन् २०१६ र २०१७ मा भएको लोकप्रिय आन्दोलनको नेतृत्व गरेको अगुवा अल हिरक अल सावीका नेता र अधिकारकर्मीहरुलाई थुनामा राखिएको विरोधमा उनीहरुका समर्थकहरुले प्रदर्शन गरेका हुन्।
मोरक्कोको अदालतले जुन २६ मा हिरकका सदस्य र अधिकारकर्मीसहित ५३ जनालाई जेल सजायको फैसला गरेको थियो। उनीहरुलाई एक वर्षदेखि २० वर्षसम्मको जेल सजाय तोकिएको अधिकारीहरुले जनाएका छन्।
आन्दोलनका नेता नासिर जेफ्जाफी र अरु तीन जनालाई २०/२० वर्ष जेल बस्नुपर्ने फैसला अदालतले गरेको हो। जेल सजाय तोकिएकालाई मुलुकको कानून उल्लंघन गरेको, सुरक्षा व्यवस्थामा खलल पुर्याएको लगायत अभियोग लगाइएको छ।
अदालतको सो फैसलाको विरोधमा अधिकारकर्मीले नारा जुलुससहित मोरक्कोको संसद् भवन अगाडि प्रदर्शन गरेका थिए।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।