काठमाडौं- दुई दिनदेखि डा गोविन्द केसीको उपचारमा संलग्न चिकित्सहरुलार्इ बारम्बार एउटै कुराले चिन्तित बनाइरहेको छ– कतै सेप्सिस त हुने होइन?
चिकित्सकहरुलार्इ राम्रैसँग थाहा छ, अनसनरत डा केसीलार्इ कसैगरी सेप्सिस भइहाल्यो भने स्वास्थ्य स्थिति काबु बाहिर जानेछ। अझ एन्टिबायोटिक्स लगायत कुनै पनि किसिमका औषधि नलिने डा केसीको अडान रहेकाले सेप्सिस नियन्त्रणको कुनै उपाय बाँकी रहनेछैन।
के हो सेप्सिस ?
सेप्सिस अर्थात् सम्पूर्ण शरीरमा एकसाथ संक्रमण। शरीरको एउटा भागबाट सुरु भएको संक्रमण जब रगतबाट शरीरका सबै भागमा फैलिन्छ, तब यस्तो अवस्थालार्इ चिकित्सकीय भाषामा सेप्सिस भनिन्छ।
अनसनको प्रारम्भदेखि नै डा केसीका रगतमा सेतो रक्त कोशिका क्रमश: घट्दै गइरहेको छ। अझ दुई दिनअघि जाँच गरिएको रगतमा सोको संख्या ४००० भन्दा कम भइसकेको थियो। सेतो रक्तकोषिका कम हुनुको सिधा अर्थ हो, शरीरको किटाणुहरुसँग लड्न सक्ने क्षमता कम हुनु। तसर्थ, सानोभन्दा सानो संक्रमण पनि चाँडै फैलिने र सेप्सिस हुने जोखिम रहन्छ।
आम जनताका बीच गएर गरिएको आन्दोलन भएका कारण भेट्न आउने शुभेच्छुकहरुलार्इ रोक लगाइएको छैन। यसका कारण उनीहरुसँगै आउने अनेकखाले संक्रमणको उच्च जोखिममा पनि डा केसी रहँदै आएका छन्। भेट्न आउने धेरैजसोलार्इ मास्क दिइएको भए पनि त्यस्ताखाले मास्कले भाइरल संक्रमणबाट भने नजोगाउने चिकित्सकहरु बताउँछन्।
केही दिनअघिबाट प्रारम्भ भएको घाँटीको संक्रमण पनि आगन्तुकहरुबाटै सरेको भाइरसका कारण हुनसक्ने चिकित्सकहरुको ठम्याइ छ।
यसका अलावा यसपटक देखिएको सबै सबैभन्दा महत्वपूर्ण संक्रमण भने न;fको रहेको छ। सत्याग्रहको पाँचौ दिनबाट स्लाइन पानी दिन खोलिएको नसामा संक्रमण देखिएको हो। उक्त संक्रमणका कारण डा केसीका हात सुन्निएका छन् । दुखाइ कम गर्न हातमा पट्टी बानिएको भएतापनि त्यसले खास फरक पारेको छैन।
यसरी नसा नै प्रभावित भएको अवस्थामा रगतमा संक्रमण सजिलैसँग फैलिन्छ । अझ सेतो रक्तकोषिकाको मात्रा कम भएका 'इम्युनोकम्प्रमाइज्ड' बिरामीको हकमा त झन् शरीरभर संक्रमण फैलिएर सेप्सिस हुने सम्भावना उच्च रहन्छ।
सेप्सिसको सुरुको लक्षण देखिन थाल्यो!
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार डा केसीलार्इ सेप्सिसका प्रारम्भिक लक्षण देखिन थालेका छन्।
मुटुको चाल बढेको (१००), श्वासप्रश्वासको गतिमा वृद्धि (२४) भएको, रक्तचाप कम (१००/६०) भएको, पिसाबको मात्रामा कमी आएको आदि कारण चिकित्सकहरुको अनुमान झन्डै मिल्दै गएको देखाउँछ। दुई दिनदेखि डा केसीले वार्ता टोली नबनेसम्मका लागि भद्र अवज्ञा स्वरुप रगत जाँच गर्न नमानेका कारण सेतो रक्तकोषिकामा भएका परिवर्तनहरु भने थाहा पाउन सकिएको छैन।
यसरी रगतबाट फैलिएको सेप्सिसका कारण मिर्गौला, कलोजो, फोक्सो लगायतका अङ्गले बिस्तारै काम गर्न छाड्छन् र केही दिन भित्रै बिरामीको मृत्यु हुन सक्छ। अस्पताल भर्ना भएका बिरामीमध्ये सेप्सिसका कारण हरेक १०० जनामा १० जनाको मृत्यु हुने एक अनुसन्धानले देखाएको छ। त्यस्तै 'सेप्टिक सक' नै भएको खण्डमा त्यसको मृत्युदर ४६ प्रतिशत रहेको चिकित्सकहरु बताउँछन्।
तसर्थ सेप्सिसमा गएका बिरामीहरुलार्इ विशेष हेरचाहका साथ आइसियुमा राखेर नसाबाट एन्टिबायोटिक्स दिइन्छ।
(अनसनरत डा गोविन्द केसीलार्इ सहयोग र समर्थन गर्न जुम्ला पुगेका अाइओएमका एमबिबिएस विद्यार्थी विशद दाहालले दिएको जानकारीमा अाधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।