क्रोएसियाका मोड्रिक चुके, फ्रान्सका भारेनले बनाए रेकर्ड

Nepal Live

काठमाडौं– फ्रान्सका डिफेन्डर राफायल भारेन एकै सिजन विश्वकप र युरोपियन च्याम्पियन्स लिग जितेर रेकर्ड बनाएका छन्। आइतबार भएको २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा फ्रान्सले क्रोएसियालाई पराजित गरेसँगै भारेनले कीर्तिमान बनाएका हुन्।

यता फाइनलमा पराजित भएसँगै क्रोएसियाका कप्तान लुका मोड्रिक भने रेकर्ड बनाउन चुकेका छन्। 

मोड्रिक र भारेन क्लब फुटबलका सहकर्मी हुन्। तर दुई खेलाडी आइतबार विश्वकप फुटबल प्रतियोगिताको उपाधिका आपसमा भिडेका थिए। दुवै खेलाडी स्पेनिस क्लब रियल म्याड्रिकमा आवद्ध छन्। 

भारेनले एकै सिजनमा विश्वकप र युरोपियन च्याम्पियन्स लिग जित्ने नवौं खेलाडी बनेर कीर्तिमान बनाउन सफल भए। गत सिजन रियलले च्याम्पियन्स लिग जित्दा मिडफिल्डमा मोड्रिक र रक्षापंक्तिमा भारेनले उत्कृष्ट खेल पस्केका थिए।  २०१८ विश्वकपमा पनि दुवै आफ्नो देशका लागि उत्कृष्ट खेल पस्कदै फाइनल सम्मको यात्रा गरेका थिए। विश्वकपमा दुवैले १–१ गोल गरेका थिए। 

यसअघि एकै सिजनमा च्याम्पियन्स लिग र विश्वकप जित्ने ८ खेलाडी थिए। १९७४ मा सेप मइयर, पाउल ब्रेइनर, हान्स जर्स, फ्रान्ज बेकेन्बाउर, गर्ड मुलर, उली होइनेस (वार्यन म्युनिख र वेस्ट जर्मनी) ले विश्वकप र च्याम्पियन्स लिग जित्ने इतिहास बनाएका थिए।

यस्तै १९९८ मा क्रिस्टियन कारेमबेउ (रियल म्याड्रिड र फ्रान्स)  र २००२ मा रोबर्टो कार्लोस (रियल म्याड्रिड र ब्राजिल)  पनि एकै सिजनमा विश्वकप र च्याम्पियन्स लिगको ट्रफी उचाल्ने अवसर पाएका थिए। १६ वर्षपछि यस्तो अवसर  फ्रान्सका भारेनले पाए। 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार