बैंकक– थाइल्यान्डको गुफाबाट उद्दार भएका किशोर तथा प्रशिक्षकले सबैलाई धन्यवाद दिएका छन्। उद्दारपछि पहिलो पटक भिडियो सन्देश जारी गर्दै उनीहरुले आफूहरुलाई उद्दार गर्ने तथा सकुशल उद्दारको कामना गर्ने सबैलाई धन्यवाद दिएका हुन्।
‘हाम्रो उद्दार कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद।’, गुफामा फसेका एक किशोर तितानले भने। उनीहरुले आफूहरुको स्वास्थ्य अवस्थाको बारेमा चिन्ता नलिन पनि आग्रह गरेका छन्। १२ किशोरमध्येका एक मिगले भने,‘अहिले म निकै शक्तिशाली भएको छु।’ आफ्नो लागि कामना गर्ने विश्वका सबैलाई अर्का किशोर पोङले धन्यवाद दिएका छन्।
‘मेरो नाम म्याक हो। हाम्रो बचाउका लागि नैतिक समर्थन गर्ने सबै थाइ नागरिकलाई धन्यवाद। हामी बिस्तारै स्वास्थ्यलाभ गरिरहेका छौँ।’, अर्का किशोरको सन्देश थियो।
हाल उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। अस्पतालको बेडबाटै उनीहरुले आफूहरु सकुशल रहेको बताएका छन्। थाइल्यान्डको जनस्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको १ मिनेट ७ सेकेन्ड लामो भिडियोमा अस्पतालकै ड्रेसमा रहेका सबैले मास्क लगाएको देख्न सकिन्छ।
भिडियो सन्देश सार्वजनिक गरिएपनि हालसम्म उनीहरुलाई औपचारिक रुपमा सार्वजनिक गरिएको छैन।
१७ दिनसम्म गुफामा फसेका १२ किशोर र एक फुटबल प्रशिक्षकलाई ३ दिन लगाएर पछिल्लो साता मात्रै उद्दार गरिएको थियो। फुटबल खेलेपछि गुफामा घुम्न गएका उनीहरु बाढीका कारण गुफाभित्र फसेका थिए। ४० थाई तथा ५० विदेशी गरी कुल ९० जनाको उद्दार टोलीले सबै १३ जनाको सकुशल उद्दार गर्न सफल भएको थियो।
हेर्नुस् भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।