इस्लामावाद– पाकिस्तानमा आगामी जुलाई २५ मा हुन लागेको आमनिर्वाचनको प्रचारप्रसारका लागि आयोजना गरिएका विभिन्न राजनीतिक दलका कार्यक्रममा हिंसात्मक घटनाहरु बढेका छन्।
इस्लामावादबाट प्राप्त समाचारअनुसार यस्तो हिंसाको क्रम आइतबार पनि जारी रहेको छ। आइतबार पनि राजधानी इस्लामावादकै एक सभामा बम आक्रमण भएको छ।
उक्त आक्रमणमा परी दर्जनौँ व्यक्ति घाइते भएका छन्। यस आक्रमणमा परी कतिजनाको मृत्यु भएको भन्ने बारेमा भने खुलाइएको छैन।
शनिबारमात्र बलुचिस्तान प्रान्तको मास्तुङ जिल्लामा भएको घटनामा कम्तिमा १ सय ५ जनाको मृत्यु भएको थियो। आक्रमणमा अन्य १ सय ५० जना घाइते भएका अधिकारीले शनिबार जानकारी दिएका थिए। सो आक्रमणमा १ जना स्थानीय नेताकोसमेत मृत्यु भएको थियो।
इस्लामिक स्टेट (आइएस)ले आफ्नो वेभसाइटमार्फत् घटना आफूले गराएको जिम्मेवारी लिएको छ।
पाकिस्तानमा पछिल्लो तीन दिनमा भएका विभिन्न घटनामा परी १ सय ३० भन्दा बढीको मृत्यु भएको छ भने २ सयभन्दा बढी घाइते भएका छन्।
यही जुलाइको अन्तिम साताका लागि आह्वान गरिएको संसदकोे निर्वाचनको मिति नजिकिँदै गर्दा हिंसाका घटनामा पनि वृद्धि भइरहेको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।