काठमाडौं– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले वरिष्ठ चिकित्सक गोविन्द केसीले संसदलाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाएका छन्।
उपप्रधानमन्त्री पोखरेलले वरिष्ठ चिकित्सक केसीको माग जनताको प्रतिनिधिमूलक संस्था संसदले मात्रै सम्बोधन गर्ने पनि स्पष्ट पारे। उनले भने,‘लोकतान्त्रिक विधि अनुसार सबै समस्याको समाधान खोज्ने थलो संसदलाई बाइपास गरेर अघि बढ्ने वरिष्ठ चिकित्सक केसीको अडान जायज छैन।’
उनले विरोधका लागि विरोध गर्ने काम बन्द गरेर मुलुकलाई अघि बढाउने काममा सहयोग गर्न पनि सबैलाई आह्वान गरे। आइतबार काठमाडौंको दोस्रो जिल्ला सभाको उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले भने,‘विरोधका लागि विरोध गर्ने परिपाटीको अन्त्य गर्न सबै पक्ष लाग्नुपर्छ।’
कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उत्साहका साथ काम गर्न स्थानीय तहका सरकारसँग आग्रह गरे। मन्त्री पण्डितले स्थानीय तहको सरकारका लागि आवश्यक जनशक्तिको व्यवस्थापनमा ढिलाइ नहुने आश्वासन पनि दिए।
मन्त्री पण्डितले स्थानीय तहको सरकारलाई जनतामा आशा भर्न पनि सचेत गराए। जनतामा जागरण ल्याउने कामलाई पनि स्थानीय सरकारले जोड दिनुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।