जनकपुरधाम– पेट्रोलियम पदार्थको चुहावट नियन्त्रणका लागि ढुवानी गर्ने ट्यांकरमा लकिंग प्रणाली सुरु गरिएको छ। पेट्रोलियम पदार्थको चुहावट हुने समस्याबाट व्यवसायीहरु मारमा रहेको भन्दै जनकपुरमा पनि नेपाल आयल निगम र भारतीय आयल निगमको संयुक्त पहलमा ट्यांकर लकिंग प्रणाली सुरु गरिएको हो।
यसअघि मोरङ, कैलाली झापा लगायतका स्थानमा पनि यो प्रणाली सुरु गरिएको थियो।
यो प्रणाली सुरु भएपछि पेट्रोलियम पदार्थ चोरी हुने, चुहावट हुने तथा आगलागी हुने लगायतका घटनाहरु निर्मूल हुने निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईले बताए। उनले डिपोहरुमा ट्यांकर लकिंग प्रणाली सुरु भएपनि बिक्रेताहरुले पनि ताल्चा लगाउने प्रणालीको विकास गरिने जानकारी दिए। उनले भने, ‘पहिलो चरणमा ट्यांकर लकिंग प्रणालीको विकास गरिएको छ, अबको चरणमा बिक्रेताहरुमा समेत यसको विस्तार गर्नका लागि पहल गरिने छ।’
‘यस प्रणालीको विकास गरिएपछि एउटा ट्यांकरको च्याम्बरमा हुने १५ वटा प्वाइन्टलाई ३ वटा रडले एउटै ताल्चा लगाएर लक गर्न सकिनेछ। यो ताल्चालाई न परिवर्तन गर्न सकिन्छ, न नकल गर्न नै।’, कार्यकारी निर्देशक भट्टराईले भने,‘यो ताल्चालाई सुरक्षित बनाउनका लागि एउटा सिरियल नम्बरको विकास गरिएको छ। जसको सहायताले मात्रै ताल्चा खोल्न सकिन्छ।
लकिंग प्रणाली सुरु भएसँगै प्रतिट्यांकर ५० देखि १ सय २० लिटरसम्मको पेट्रोलियम पदार्थ बचत हुने गरेको आयल निगमको तथ्यांकले देखाएको छ।
देशभरी खपत हुने पेट्रोलियम पदार्थमध्ये १४ प्रतिशत प्रदेश २ मा मात्रै खपत हुँदै आएको छ। देशभर दैनिक १५ हजार किलोलिटर पेट्रोल खपत हुने गरेकोमा प्रदेश २ मा मात्रै ८० हजार लिटर दैनिक खपत हुँदै आएको छ। देशभरी दैनिक ५ हजार किलोलिटर डिजेलको खपत रहेकामा प्रदेश २ मा मात्रै दैनिक २ लाख ५० हजार लिटर खपत हुने गर्दछ। प्रदेश २ मा अमलेखगञ्ज र धनुषास्थित महेन्द्रनगर डिपो मात्रै रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।