काठमाडौं– विमानस्थलबाट सुन तस्करी गर्ने गिरोहका नाइकेमध्ये एक रमेश उप्रेती संयुक्त अरब इमिरेट्स(यूएइ)को दुबईमा पक्राउ परेका छन्। नेपाल प्रहरीको आग्रहमा यूएईको प्रहरीले उनलाई पक्राउ गरेको थियो।
उप्रेतीविरुद्ध अन्तराष्ट्रिय प्रहरी अपराध संगठन(इन्टरपोल)ले रेड कर्नर नोटिस जारी गरेको थियो। उनी सो गिरोहका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोर’का भाई हुन्।
उप्रेती दुबईमा व्यवसायको आवरणमा सुन तस्करी तथा हुन्डीको कारोबारमा संलग्न थिए। उनलाई त्यहाँबाट ‘डिपोर्ट’ गराएर नेपाल ल्याउने तयारी भइरहेको छ। त्यसका लागि यूएईको प्रहरीले नेपाल प्रहरीसँग उनीविरुद्धको अभियोग पत्र मागेको छ।उप्रेतीलाई फरार प्रतिवादी बनाई जिल्ला अदालत मोरङमा मुद्दा दायर भइसकेको छ।
सो प्रकरणमा उप्रेतीसहित ४ जनाविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरिसकेको छ। जसमा मोहन अग्रवाल, बेनु श्रेष्ठ र हरिशरण खड्काविरुद्ध रेड कर्नर नोटिस जारी भएको हो।
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको बिशेष अनुसन्धान टोलीले विमानस्थलबाट भएको सुन तस्करी र सनम शाक्य हत्या घटनाको अनुसन्धान गरिरहेको छ। टोलीको म्याद सोमबार सकिदै छ। टोलीले अनुसन्धान निष्कर्षतर्फ लगी प्रतिवेदन लेख्न थालेको छ। अनुसन्धानको क्रममा सो प्रकरणमा थप व्यक्तिहरुलाई प्रतिवादी बनाउने तयारी भइरहेको स्रोत बताउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।