काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गल्ती गर्नेहरु लुक्न नसक्ने बताएका छन्। आइतबार विष्णु चौलागाईंको १५औं स्मृति दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले इतिहासको अदालत धेरै शक्तिशाली हुने जिकिर गरे।
जनयुद्धका बेलामा कतिपय गल्ती हामीबाट भए भनेर आफूले त्यतिबेला पनि वक्तव्य दिने गरेको उनले सुनाए। 'बाँदरमुडेमा जे घटना भयो, गल्ती भयो भनेर यो पार्टीको, केन्द्रको नीति योजना र कार्यक्रमभन्दा बाहिर भयो भनेर त्यति नै बेला वक्तव्य दिएको छु र बिबिसीसँग मैले त्यतिबेला कुरा गरेको छु', उनले भने।
'चाहे बेथानको कुरा गरौं, चाहे दोरम्बाको कुरा गरौं। यी ऐतिहासिक परिघटनाहरु छन्। यी कसैले बिर्साएर बिर्सिन सकिने छैन। तर, कोही गल्ती गरेकोबाट छुपेर जान्छु भनेर सोच्न पर्दैन। इतिहासले चिहान खोतल्दै ल्याउँछ र अपराधीलाई कठघरामा उभ्याएरै छोड्छ', प्रचण्डले भने।
'एक-दुई वर्ष मान्छेले ढाकछोप गर्न सक्छ। तर, सधैं ढाकछोप केही पनि हुँदैन। हामीले गल्ती गरेको कुरालाई पनि इतिहासले खोतलखातल पार्छ र दूधको दूध, पानीको पानी नबनाएसम्म छाड्दैन। त्यतिबेला राज्यले गरेको गल्तीहरुलाई पनि त्यसरी नै खोतलखातल गरी नै राख्छ। जति नै ढाकछोप गरे पनि ढाकछोप हुँदैन', उनले भने।
प्रचण्डले एमाले र माओवादीबीच एकता भएको एउटा वर्गलाई मन नपरिरहेको उल्लेख गरे। 'जसले लामो समयदेखि शासन गरे, त्यो वर्गलाई मन परेको छैन', उनले भने, 'त्यसैले यो एकतालाई के गरी कमजोर पार्न सकिएला र भ्रम छर्न सकिएला भनेर उनीहरु रातदिन कसरतमा लागेका छन्। हामीबाट भएका सानातिना त्रुटिलाई पनि समातेर जनतामा भ्रम पार्नका लागि पूरै तागत लगाउनेतिर केन्द्रित भएका छन्।'
माओलाई उदृत गर्दै प्रचण्डले पार्टी जमेको पोखरी जस्तो नभएको बताए। 'कतिपयले पार्टीलाई जमेको पोखरीजस्तो गरी बुझ्छन्। एकचोटि बनेपछि बन्यो, त्यो भत्किनै हुँदैन। चल्नै हुँदैन भन्ने सोच्छन्', उनले भने, 'तर कम्युनिस्ट र वैज्ञानिकहरुका निम्ति पार्टी भनेको पोखरीमा जमेको पानी होइन। गडगडाउँदो खोलाजस्तो हो। यता र उता भत्काउँदै अगाडि बढ्छ। र आफ्नो गन्तव्यतिर निरन्तर जान्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।