पेरिस- रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी सोमबार द्विपक्षीय वार्ता हुने भएको छ।
सोमबार हेलसिन्की शिखर सम्मेलनका क्रममा दुवैबीच वार्ता हुने बताइएको छ। पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको थियो। दुई महिनाअघि पनि पुटिनको कडा आलोचना गर्दै अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो।
अमेरिकाको यो कदमको स्वागत गर्दै केही बेलायत र युरोपेली देशले पनि रुसी कूटनीतिज्ञलाई आ–आफ्ना देशबाट निकाला गरेका थिए। यो कार्यको अपजस सबै अमेरिकालाई गएको थियो।
यसको जवाफमा रुसले पनि मस्कोमा रहेको एक कन्सुलेट अफिस बन्द गराएको थियो। जसका कारण केही दर्जन अमेरिकी कूटनीतिज्ञले रुस छोड्नुपरेको थियो।
त्यो विवादपछि पहिलो पटक यी दुई शक्तिशाली देशका राष्ट्रपतिले आपसी भेटवार्ता गर्नुहुने भएको बताइएको छ। विश्वका सञ्चारमाध्यमहरुले यसलाई एक बहुप्रतीक्षित वार्ताका रुपमा पनि लिएका छन्।
उनीहरूले सोमबारको भेटवार्ता पछि संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी भएको रुसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ।
पुटिन र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन पनि गर्ने कार्यक्रम रहेको रुसबाट प्राप्त समाचारमा जनाइएको छ। हेलसिन्की वार्तापछि उनीहरुको पत्रकार सम्मेनल हुनेछ।
क्रेमलिनका प्रवक्ताले आउँदो हप्ता हुने शिखर सम्मेलनपछि उनीहरूले संयुक्त वक्तव्य नै जारी गर्ने निश्चित भने नभएको गत शुक्रबार मस्कोमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा जानकारी दिएका थिए।
दुई शक्तिशाली राष्ट्रपति पुटिन र ट्रम्पको पहिलो बैठक आउँदो सोमबार हुने जानकारी रुसी सञ्चारमाध्यमहरुले दिएका छन्। साथै, ती सञ्चारले यी दुई राज्यप्रमुखहरुले भेटेपछि के विषयमा कुराकानी गर्नेछन् भन्ने बारेमा पनि विभिन्न अनुमानका समाचार बनाएका छन्।
एक-अर्काले विपरीत धारको नेतृत्व गर्दै आएका तथा पछिल्लो समयमा विविध विषयमा एक-अर्काप्रति विवादास्पद अभिव्यक्ति दिँदै आएका पुटिन र ट्रम्पको भेटवार्तालाई महत्वका साथ हेरिएको छ।
यसअघि दुवैबीच गत वर्षको नोभेम्बरमा भएको एपेक शिखर सम्मेलनका क्रममा भियतनाममा भेटवार्ता भएको थियो। त्यस समयमा उनीहरुबीच छिटै वार्ता गर्ने सहमति भएको बताइएको थियो।
राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो एक जना ‘प्रतिष्पर्धी’ मात्र भएको टिप्पणी गरेका गरेका थिए।
गत साता मात्र ब्रसेल्समा भएको एउटा शिखर सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले समकक्षी पुटिनलाई आफ्नो शत्रु भने नभएको प्रतिक्रिया दिएका हुन्। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।