काठमाडौं- नेपाल–भारतबीच नेपालमा जल यातायात सञ्चालनबारे छलफल सुरु भएको छ।
नेपाल–भारतबीच जल यातायात सञ्चालनबारे ठोस कार्ययोजना बनाउने उद्देश्यका साथ आइतबारदेखि काठमाडौंमा सहसचिव स्तरीय छलफल सुरु भएको हो। नेपालका कोसी, गण्डक, कर्णाली आदि नदीमा तत्काल पानी जहाज सञ्चालन हुनेगरी द्विपक्षीय छलफल सुरु गरिएको जल तथा उर्जा आयोगको सचिवालयका सहसचिव माधव बेल्बासेले जानकारी दिए।
उनले बैठकमा भारतीय पक्षले नेपालमा जल यातायात सञ्चालनका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा दुई पक्षीय छलफल गरी नेपालमा जल यातायात सञ्चालनको कामलाई अघि बढाउने सहमति गरिएको थियो।
सहसचिव स्तरीय छलफलमा नेपालमा जल यातायात सञ्चालनका लागि भारतको पटनास्थित कालुघाटमा नेपाली पक्षले तत्काल स्थलगत अवलोकन गर्ने सहमति पनि गरिएको छ। जल यातायातका लागि दुवै देशको सम्भावित नदीहरुमा छिट्टै स्थलगत अवलोकन गर्ने सहमति पनि गरिएको सहसचिव बेल्बासेले जानकारी दिए।
दुई दिनसम्म चल्ने बैठकमा दुवै देशका प्राविधिकहरु पनि सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।