काठमाडौं– दरबारमार्गस्थित क्लब डेजा भूमा भारतीय कलाकार पुनम पाण्डेलाई ल्याएर आइतबार बेलुका गर्न लागिएको विश्वकप बिशेष कार्यक्रम रोक्न प्रहरीले निर्देशन दिएको छ। शान्ति सुरक्षाको कारण देखाउँदै प्रहरीले कार्यक्रम रोक्न निर्देशन दिएको हो।
विश्वकप फुटबलको फाइनल हेर्ने कार्यक्रममा क्लबले पाण्डेलाई बोलाएको छ।
सो कार्यक्रमका लागि अनुमति नलिएकाले रोक्न निर्देशन दिइएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी दानबहादुर मल्लले बताए। ‘सिडियो कार्यालयको अनुमति बिना त्यस्ता कार्यक्रम गर्न पाइँदैन,’ उनले भने,‘जबरजस्ती कार्यक्रम गर्न खोजे सबैलाई पक्राउ गर्छाै।’ शान्ति सुरक्षासँग सम्बन्धित विषय भएकाले अनुमति बिना त्यस्तो कार्यक्रम गर्न नमिल्ने प्रहरीको भनाई छ।
क्लबका सञ्चालकहरु आइतबार बिहान त्यस विषयमा छलफल गर्न प्रहरीमा गएका थिए। उनीहरुले सिडिओको अनुमती बिना कुनै पनि हालतमा कार्यक्रम गर्न नदिने बताएका छन्।
यसअघि अमेरिकन कलाकार मार्समेलोलाई सोही क्बलमा ल्याउने भनेर ल्याउन नसकेपछि तोडफोड भएको थियो। जून घटनाका क्लबका सञ्चालकहरु पक्राउ समेत परेका थिए।
क्लबको व्यापारका लागि पाण्डेलाई ल्याएर क्लबको प्रमोसन गर्न लागिएको थियो। क्लबमा धेरै भिडभाड हुने र झै–झगडा हुन सक्ने भएकाले त्यस्ता कार्यक्रममा बिशेष सुरक्षा योजना मिलाउनुपर्छ। तर, मौखिक जानकारी दिएर कार्यक्रम गर्न लाग्दा क्लब फेरि विवादमा परेको हो।
क्लबले सो कार्यक्रमका लागि भनेर टिकट बिक्रि गरिसकेको छ। प्रहरीले कार्यक्रम रोक्न निर्देशन दिएपछि क्बलका सञ्चालकहरु नेताहरुमार्फत दबाब दिएर कार्यक्रमको अनुमति लिने दौडधुपमा लागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।