काठमाडौं- आदिकवि भानुभक्त आचार्यको २०५औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवतखण्ड कला साहित्य सम्मेलन–२०७५ अन्तर्गत आज चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन्।
प्रधानमन्त्री ओलीले कार्यक्रममा सङ्क्षिप्त शुभकामना दिँदै समृद्ध नेपालका लागि हरेकले कर्मीमौरीझैँ काम गरेर देश बनाउनुपर्ने बताए। उनले नेपाल गरिब नभई बलजफ्ती गरिब बनाइएकाले अब समृद्धिको यात्रामा लाग्नुपर्नेमा जोड दिए।
उनले चन्द्रागिरिलाई पहिलेदेखि नै पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा त्यसो हुन नसकेको भन्दै अहिले आएर पर्यटकीय गन्तव्य बनेकोमा खुसी व्यक्त गरे।
प्रधानमन्त्री ओलीले भालेश्वर मन्दिरको दर्शन गर्नुका साथै पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण गरेका थिए।
साहित्य सम्मेलनको सिर्जना यात्रामा प्रधानमन्त्री ओलीले पनि आफ्नो कविता वाचन गर्ने जनाइएको छ। यसैगरी, कार्यक्रममा सहभागी स्रष्टाहरुले पनि चन्द्रागिरिको अवलोकनपछि रचना वाचन गर्ने कार्यक्रम छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।