डडेल्धुरा– जीर्ण अवस्थामा रहेको डडेल्धुराको एक मात्र कबर्डहल भत्किएको छ। लगातारको वर्षाका कारण शनिबार कभर्डहल भत्किएको हो। अमरगढी नगरपालिका वडा नम्बर ४ खलंगामा ३४ वर्ष पहिले बनेको कबर्डहल जीर्ण भइसकेको थियो।
पुरानो संरचना भएको र मर्मतसम्भार नभएकाले वर्षाका कारण कबर्डहल भत्किएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्रबहादुर मगरले बताए। कबर्डहल मर्मतका लागि बारम्बार सरोकारवाला निकायमा अनुरोध गरे पनि कुनै चासो नदेखाएको भन्दै उनले दुखेसो पोखे।
‘विगत १ वर्षदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश सरकारलाई इस्टिमेटसहित मर्मतका लागि अनुरोध गर्दै आएका छौं,’ उनले भने, ‘स्थानीय निकाय अमरगढी नगरपालिकालाई पनि निकै अनुरोध गरेका हौं, तर बेवास्ता गरियो।’
जिल्लाको महत्वपूर्ण र एकमात्र कभर्डहल भत्किँदा जिल्लाका इनडोर खेलकुदका कार्यक्रम प्रभावित हुने उनले बताएका छन्।
ब्याडमिन्टन, टेबलटेनिस, कराते, बक्सिङ, चेस जस्ता भित्र खेलिने खेल कभर्डहलमा हुँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।