ललितपुर- गोदावरी नगरपालिकास्थित जनभावना क्याम्पसमा ‘एकाडेमिया–इन्डस्ट्री डाइलग’ भएको छ। कार्यक्रमका वक्ताहरुले वित्तीय प्राज्ञिक थलोले दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने र वित्तीय क्षेत्रको आवश्यकता अनुसार व्यावहारिक ज्ञान दिनुपर्ने औंल्याएका छन्।
विश्वविद्यालय अनुदान आयोग तथा गोदाबरी नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा विभिन्न वित्तिय संस्थाका प्रमुख कार्यकारी, विभिन्न उद्योगका प्रबन्ध निर्देशक, सहकारी सञ्चालक तथा प्रबन्धक, त्रिभुवन विश्वविद्यालयका व्यावस्थापन संकायका प्राध्यापक एवं विद्यार्थीको सहभागिता थियो।
कार्यक्रममा प्रदेश ३ का उद्योग, वन तथा पर्यटनमन्त्री अरुण नेपालले राजनीतिक संक्रमण अन्त्य भएकाले अब सम्मृद्धिको यात्रामा लाग्नुपर्ने बताए। उनले स्थानीय, प्रदेश तथा केन्द्र सरकारले सम्मृद्धिको यात्रामा हिँड्ने प्रयास गरेको बताउँदै सामुदायिक क्याम्पसहरुले विकासमा योगदान दिने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने औंल्याए।
गोदाबरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले दक्षिण ललितपुरको शिक्षाका लागि जनभावना क्याम्पसले पुर्यारएको योगदानको प्रशंसा गरेका थिए। उनले क्याम्पसलाई नगरपालिकाले प्राथमिकतामा राखेको जनाए।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा बलराम चापागाईंले वित्तीय संस्थाहरूले सिएसआर कानुन मात्रा मानेर नभई समाजप्रतिको उत्तरदायित्व बहन गर्नुपर्नेमा जोड दिए। उनले संस्थाहरूले जिम्मेवारीपूर्ण नाफा कमाउनुपर्ने बताउँदै सामाजिक कामका लागि खर्च गर्न सके मात्र वित्तिय संस्थाले सिएसआरको दायित्व पूरा गर्ने जनाए।
सानिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सबै विषयमा जिज्ञासा राख्ने पुस्ता उत्पादनका लागि प्राज्ञिक थलोले योगदान दिनुपर्ने बताए। उनले भने, ‘प्रश्न नै प्रश्न गर्ने पुस्ता अहिलेको आवश्यकता हो।’
नेपाल राष्ट्र बैंकका निर्देशक मुक्ति सापकोटाले वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीले सेवाग्राहीलाई सन्तुष्टि दिन सक्ने हुनुपर्ने औंल्याए। उनले भने, 'तर, अहिले यस्ता कर्मचारी पाउन कठिन भएको छ।'
खजुरीको नेपालका प्रबन्ध निर्देशक जगन्नाथ मजर्हनले व्यावहारिक अनुभव र ज्ञान भएका कर्मचारी उद्योग क्षेत्रलाई सधैं आवश्यक रहेकाले यस्ता कार्यक्रमले प्राज्ञिक क्षेत्र र वित्तीय तथा उद्योगलाई नजिक ल्याउन भूमिका खेल्ने बताए।
यसैगरी, ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले वित्तीय संस्थाहरूले सिएसआरको सही ढंगबाट उपयोग गर्न नसकेको जनाएका थिए। कार्यक्रममा ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य नवराज सिलवाल र ललिपतुर १ की प्रदेशसभा सांसद् लालकुमारी पुनले पनि आफ्ना धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।