दमौली- तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ। ठूलढुंगाबाट बराल चोकसम्म सञ्चालन हुने केबुलकार ५६ करोडको लागतमा निर्माण हुने भएको हो।
आरकेबी रियलस्टेट एन्ड कन्सट्रक्सन लिमिटेड र स्थानीय व्यापारी ताराप्रसाद उपाध्यायको लगानीमा बन्दीपुर केबुलकार निर्माण प्रक्रिया अगाडि बढेको हो।
केबुलकारका लागि आरकेवी रियलस्टेट एन्ड कन्सट्रक्सनले ७० प्रतिशत र उपाध्यायले ३० प्रतिशत लगानी गर्ने भएका छन्। १ किलोमिटर ६ सय मिटर लामो केबुलकारमा ७ वटा टावर रहनेछन्।
केबुलकार निर्माणका लागि जग्गा खरिदका साथै सबै क्षेत्रबाट स्वीकृति लिई अन्तिम डिपिआरसमेत तयार भइरहेको उपाध्यायले जानकारी दिए।
यसैगरी, तनहुँको ऐतिहासिक नगरी एवं पुरानो सदरमुकाम बन्दीपुरमा करिब ६० करोडको लगानीमा आधा दर्जन होटल बन्न थालेका छन्। बढ्दो पर्यटकलाई ध्यानमा राखी यहाँ सुविधा सम्पन्न होटलहरु थपिने क्रम बढेको हो।
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङले होटलहरु थपिने क्रम तीव्र भइरहेको जनाए।
पहाडकी रानी उपनामले परिचित बन्दीपुरमा यतिबेला चिनियाँ र स्पेनिस पर्यटकको संख्या बढेको छ । दैनिक करिव १ सय विदेशी पर्यटक बन्दीपुर भित्रिने गरेको पर्यटन व्यवसायीको भनाइ छ।
आन्तरिक पर्यटकको समेत बन्दीपुर रोजाइ बन्दै गएको छ। गर्मी समयमा चिसो हावा, स्वच्छ हराभरा र त्यहाँबाट देखिने दृश्वालोकनका साथै भक्तपुरे शैलीका ऐतिहासिक घरहरुले बन्दीपुरमा पर्यटकको आकर्षण बढ्दै गएको छ। पर्यटकलाई ध्यानमा राखी सूचना केन्द्र स्थापना गरी पथ प्रदर्शकहरु परिचालन र प्याकेज कार्यक्रमसमेत सञ्चालन गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।