काठमाडौं– सुन तस्करी तथा सनम शाक्यको हत्या घटनाको विशेष अनुसन्धान निष्कर्ष नजिक पुगेको छ। अनुसन्धानका लागि गठन गरिएको ‘विशेष अनुसन्धान टोली’ले प्रतिवेदन लेखन सुरु गरेको छ।
टोलीको म्याद सोमबारसम्म मात्र बाँकी छ। सरकारले अब म्याद नथपिने जनाउँदै अनुसन्धानलाई निष्कर्षमा पुर्याउन निर्देशन दिइसकेको छ। सोही अनुसार टोलीले सुझावसहितको प्रतिवेदन लेखन प्रक्रिया सुरु गरेको हो।
प्रतिवेदन बुझाएसँगै थप व्यापारीहरुलाई प्रतिवादी बनाउन सिफारिस गर्ने तयारी छ। त्यस्तै, देशको सुरक्षा संरचनामा भइरहेका कमजोरीको पनि सुधार गर्न सुझाव दिन लागिएको छ। टोलीका एक सदस्यका अनुसार, सुन तस्करी तथा हुन्डी कारोबारले देशको अर्थतन्त्रमा पुर्याएको असर र त्यसका नियन्त्रणका उपायलाई प्रतिवेदनमा राख्न लागिएको हो।
अभियुक्तको संख्या बढ्ने
हालसम्म सुन तस्करी प्रकरणमा अभियुक्तको संख्या ९ जना प्रहरीसहित ७५ पुगिसकेको छ। अनुसन्धानका क्रममा यस प्रकरणमा थप व्यक्तिको संलग्नता खुलेको छ। फरार रहेका थप केही व्यक्तिलाई अभियुक्त बनाउन सिफारिस गर्ने टोलीको तयारी छ। जसमा केही नाम चलेका व्यवसायी समेत रहेको स्रोत बताउँछ।
गृहमन्त्री रामबहादुर थापाले सो प्रकरणमा आफूहरु ठूला माछाको नजिक पुगेको बताएका थिए। तर, तस्करीमा संलग्न ठूला भनिएका व्यक्ति पक्राउ नपरी छानबिन टोलीको म्याद सकिन लागेको हो। तस्करीमा संलग्न व्यक्तिहरुको केही हाइप्रोफाइल व्यक्तिहरुसँगको निकट सम्बन्ध देखिए पनि तस्करीमै संलग्नताको प्रमाण टोलीले भेट्न सकेको छैन। राजनीतिक दबावका कारण पनि ‘लिंक’ देखिएका व्यक्तिहरुलाई टोलीले सोधपुछका लागि बोलाउन नसकेको स्रोत बताउँछ।
नागढुंगामा बरामद सुन विमानस्थलबाट तस्करी
गत असार १६ गते नागढुंगामा बरामद भएको सुन पनि सोही समूहले विमानस्थलबाट सुन तस्करी गरी ल्याएको खुलेको छ। पहिले नै विमानस्थलबाट तस्करी भएको र काठमाडौंमा लुकाएर राखिएको सुन भारत तस्करी भइरहेको अनुसन्धानमा खुलेको छ।
भारतीय नम्बरप्लेटको कारको फिल्टर बक्समा लुकाएर सुन तस्करी गर्ने क्रममा प्रहरीले गाडीका चालक भारतीय नागरिक दीपककुमार मौर्य र कञ्चनपुरका मनोज विकलाई पक्राउ गरेर अनुसन्धान गरिएको थियो। जसका क्रममा भारतीय नागरिकहरु अशोककुमार साह, चन्द्रमोहन जोशी र कञ्चनपुरकी सम्झना साहलाई पक्राउ गरेको थियो।
उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा सो सुन विमानस्थलबाटै तस्करी भएको पुष्टि भएको छ। पक्राउ परेका अशोककुमार विमानस्थलबाट ३८ सय केजी सुन तस्करी गर्ने समूहकै सदस्य भएको पुष्टि भएको अनुसन्धानमा आबद्ध एक अधिकारीले बताए। तीन किलो सुन तस्करीको अनुसन्धानको क्रममा टोलीले थप तीन जनालाई पक्राउ गरी छानबिन गरिरहेको छ।
पहिलो पटक गठन भएको थियो टोली
गत फागुन १८ गते मोरङ उर्लाबारीका सनम शाक्यको हत्या भएपछि सो घटनाको अनुसन्धानमा लापरवाही भएको गुनासो आएपछि गृहमन्त्रीले छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका थिए। सोही आधारमा प्रहरीले आन्तरिक छानबिन समिति गठन गरेको थियो। प्रारम्भिक अनुसन्धानमा विमानस्थलबाट तस्करी भएको सुन हराएपछि शाक्यको हत्या भएको खुलेको थियो।
साथै, सो समूहले ठूलो मात्रामा सुन तस्करी गरेको अनुसन्धानमा खुलेपछि संगठित अपराध निवारण ऐन २०७० को दफा १२ मा रहेको प्रावधान अनुसार गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको संयोजकत्वमा चैतको तेस्रो साता छानबिन टोली गठन भएको हो। टोलीको २ पटक म्याद थप भइसकेको छ।
नेपालमा संगठित अपराध निवारण ऐन अनुसार पहिलो पटक विशेष अनुसन्धान टोली गठन गरेको हो। जसमा नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु सदस्य छन्। टोलीले कानुन र राष्ट्र बैंकका कर्मचारीलाई समेत विशेषज्ञका रुपमा राखेर अनुसन्धान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।