काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा अब तेस्रो स्थान र फाइनल गरी २ खेल बाँकी छ।
शनिबार तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। आइतबार उपाधिका लागि क्रोएसिया र फ्रान्स भिड्नेछन्। यी दुई खेलपछि सर्वाधिक गोलकर्ता (गोल्डेन बुट) जित्ने खेलाडीको टुंगो लाग्नेछ।
गोल्डेन बुटको दौडमा इंग्ल्यान्डका कप्तान ह्यारी केन शीर्ष स्थानमा छन्। उनले अहिलेसम्म ६ गोल गरिसकेका छन्। सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका केनलाई बेल्जियमका रोमेलु लुकाकुले पछ्याइरहेका छन्। लुकाकुले ४ गोल गरेका छन्। ४ गोल गरेका अर्का खेलाडी क्रिस्टियानो रोनाल्ड भने घर फर्किसकेका छन्। यो अवस्थामा केन र लुकाकुबीच गोल्डेन बुटका लागि भिडन्त हुनेछ।
विश्वकमा छैटौं गोल गरेसँगै केनले एकै विश्वकपमा बढी गोल गर्ने इंग्लिस खेलाडीको रेकर्ड बराबरी गरेका थिए। यसअघि सन् १९८६ मा ग्यारी लिनेकेरले इंग्ल्यान्डका लागि ६ गोल गरेका थिए।
अब शनिबार इंग्ल्यान्ड र बेल्जियम भिड्दा केन र लुकाकुबीच गोल्डेन बुटको प्रतिस्पर्धा हुनेछ। केनले ६ गोल मध्ये ३ गोल पेनाल्टीमा गरेका थिए। लुकाकुले पहिलो २ खेलमा ४ गोल गरेपछि गोल गर्न सकेका छैनन्।
लुकाकु र केनले शनिबार गोल गर्न नसकेको अवस्थमा फ्रान्सका एन्टोनी ग्रिजम्यान र केलियन एमबाप्पे पनि गोल्डेन बुट जित्ने सम्भावना हुनेछ। किनकी दुवैले ३–३ गोल गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।