बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ र १७ का १ सय १२ जनालाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको छ। शनिबार मणिग्राममा आयोजित एक कार्यक्रमकाबीच कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल, प्रदेश सांसद दधिराम न्यौपाने, नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले उनीहरुलाई जग्गाधनी प्रमाण पूर्जा प्रदान गरेका हुन्।
नापी कार्यालय रुपन्देहीले साविक मधवलिया १ (क) को किता नम्बर ८९ र ९८ तथा गंगोलिया ३ (ख) को कित्ता नम्बर १३२ को गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको हो। जग्गाको भोगचलन गर्दै आएपनि यसअघि नापजाँचका क्रममा छुटेका स्थानीय बासिन्दाले झण्डै ५० वर्षपछि आफूले प्रयोग गरेको जग्गाको प्रमाण पूर्जा प्राप्त गरेका हुन्।
जग्गाधनी प्रमाण पूर्जा वितरण गर्दै मन्त्री खनालले जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारीमा सरकार रहेको बताए। उक्त प्रतिबन्धका कारण धेरै समस्या र विकृति बढेको बताउँदै उनले आवश्यक नीति निर्माण गरेर कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारीमा मन्त्रालय रहेको प्रष्ट पारेका हुन्।
‘जग्गा व्यवस्थापन सम्बन्धी आवश्यक नीति बनाएर कित्ताकाटमा देखिएको गाँठो फुकाउँछौं।’, उनले भने, ‘यस सम्बन्धमा मैले प्रधानमन्त्रीज्यूसँग पनि छलफल गरेको छु। एक महिनाभित्र यो विषयलाई हामीले टुंग्याउने छौं।’ उनले कृषि भूमिको संरक्षण हुनेगरी कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारीमा सरकार रहेको जानकारी दिए।
स्थानीय तहले भू–उपयोग योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले रुपन्देहीमा खेतीयोग्य जमिनको संरक्षण गरिनुपर्ने धारणा राखे। भूमि समस्या समाधान गर्न सरकार क्रियाशील रहेको बताउँदै मन्त्री खनालले यसमा स्थानीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा प्रदेश सांसद दधिराम न्यौपानेले जग्गाको कित्ताकाट रोकिँदा मालपोत र नापी कार्यालयमा धेरै विकृति देखिएको बताउँदै यो समस्या समाधानमा संघीय सरकार गम्भीर हुनुपर्ने बताए।
नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले कित्ताकाटमा लगाइएको रोकले ल्याएको समस्याप्रति जानकार रहेको उल्लेख गर्दै आफूहरु नीतिभन्दा बाहिर जान नसक्ने प्रष्ट पारे। भूमि व्यवस्थापनका सन्दर्भमा तिलोत्तमा नगरपालिकाको नेतृत्वले देखाएको तत्परता निकै प्रशंसनीय रहेको बताउँदै उनले नेतृत्वको इच्छाशक्तिका कारण आगामी आर्थिक वर्षमा तिलोत्तमामा पुनः नापी हुन थालेको जानकारी दिए।
तिलोत्तमा नगर प्रमुख घिमिरेले नगरभित्रको जग्गाको वैज्ञानिक व्यवस्थापनमा नगरपालिका क्रियाशील रहेको बताए।
जग्गाधनी पूर्जा पाएपछि स्थानीय खुशी
जग्गाको भोगचलन गर्दै आएपनि वर्षौंपछि जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्दा स्थानीय बासिन्दाहरु भने खुशी देखिएका छन्। तिलोत्तमा–१७ भरौलियाकी ७० वर्षीय मालतीदेवी थरुनीले जीवनको उत्तराद्र्धमा जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्दा आफू निकै खुशी भएको बताइन्।
यस्तै तिलोत्तमा–१५ की ६० वर्षीय कोइली चौधरीले लामो समयको प्रतीक्षापछि बल्ल प्रमाण पूर्जा पाएको बताउँदै भनिन्,‘अब बल्ल जग्गाको वास्तविक धनी भइयो।’
नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत जनकबहादुर भण्डारीले प्रक्रिया पूरा गरेर क्रमशः तिलोत्तमा नगरपालिकामा रहेका अन्य गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पूर्जा पनि वितरण गरिने जानकारी दिए।
जनप्रतिनिधिहरुको तत्परताका कारण पछिल्लो पटक तिलोत्तमाबाट गाउँब्लकको जग्गाधनी प्रमाण पूर्जा वितरण सुरु गरिएको उनले बताए। तिलोत्तमाका अन्य वडाहरुमा समेत गाउँब्लक जग्गा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।