काठमाडौं- नेपाल स्रष्टा समाजले योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान साहित्यकार नीलम कार्की निहारिकालाई दिने भएको छ।
यस्तै, योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान इतिहास तथा संस्कृतिविद् ज्ञानमणि नेपाललाई दिने निर्णय गरिएको छ।
यी दुवै सम्मान साउन ७ गते हरिशयनी एकादशीका दिन एक समारोह आयोजना गरी अर्पण गरिने भएको छ। नारी स्रष्टा सम्मानको राशि २५ हजार १ सय ११ रुपैयाँ छ भने अभियन्ता राष्ट्रिय सम्मानको राशि २० हजार १ सय ११ रुपैयाँ छ।
१९९८ असार २२ गते हरिशयनी एकादशीकै दिन तत्कालीन सांस्कृतिक बेथितिको विरुद्धमा योगमायाको नेतृत्वमा ६८ जनाले अरुण नदीमा आत्मदाह गरेका थिए।
योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान २०६५ सालदेखि दिन थालिएको हो भने अभियन्ता राष्ट्रिय सम्मान यसै वर्ष स्थापना गरिएको समाजले जनाएको छ।
समाजका अध्यक्ष पवन आलोकले योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान दुई लाखको राशिबाट स्थापना गरेका थिए। जसमा साहित्यकार रमा शर्माले हालै एक लाख रुपैयाँ थपेसँगै अक्षयकोष तीन लाख पुगेको छ।
यस्तै, योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान राजेश न्यौपाने र केदारप्रसाद न्यौपानेले दुई लाख अक्षयकोष राख्दै यसै वर्ष स्थापना गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।