काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले पर्यटन विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री अधिकारीले पर्यटन क्षेत्रको समुचित विकासका लागि तत्काल एक लाखभन्दा बढी युवाहरुलाई तालिम दिने योजना पनि अघि सारेका छन्।
शनिबार दोलखाको गौरीशंकर गाउँपालिकाका सगरमाथा आरोहीहरुको सम्मानमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एक वर्षभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने दावी गरे। मन्त्री अधिकारीले ३ वर्षभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र ७ वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिसक्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको पनि बताए।
मन्त्री अधिकारीले गौरीशंकर गाउँपालिकाकालाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। दोलखाको सदरमुकाम चरिकोटमा विमानस्थल निर्माणका लागि छिट्टै सर्भे गर्ने योजना पनि सरकारको रहेको मन्त्री अधिकारीको भनाइ छ।
कार्यक्रममा बोल्दै दोलखाका प्रतिनिधिसभाका सांसद पार्वत गुरुङ, प्रदेश सभाका सांसद पशुपति चौलागाईंले दोलखाको समृद्धिमा आफूहरु क्रियाशील रहेको बताए।
कार्यक्रममा गौरीशंकर गाउँपालिकाको विविधता झल्काउने खालको तस्विर समावेश गरिएको पुस्तक ‘गौरीशंकर ः विविधतामा एकता’ पनि विमोचन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।