राजविराज– बाढीका कारण भत्किएको सप्तरीको महुली खोला पुलको मर्मत सम्भार अझै सकिएको छैन। असार २१ र २२ गतेको वर्षासँगै आएको बाढीले पुलको एकातर्फको आधा भाग भत्काएपछि विगत ७ दिनदेखि एकतर्फी यातायात सञ्चालन गरी पुलको मर्मत भइरहेको छ।
अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ स्थित महुली खोलामा रहेको पुल असार २३ गते साँझ भत्किएको हो। ११ सय मिटर पुलमध्ये उत्तरपट्टिबाट करिब ५० मिटर भाग भत्किएको छ।
सडक विभागका पूर्वाञ्चल क्षेत्रीय निर्देशक दीपककुमार भट्टराईले गत असार २४ गते पुलको मर्मत सम्भारका लागि ७ दिन लाग्ने बताएका थिए। तर, हालसम्म मर्मतको ५० प्रतिशत काम पनि सम्पन्न नभएको स्थानीय अशोक आचार्यले दावी गरे।
सडक डिभिजन कार्यालय, सिरहाले भत्किएको ठाउँमा तारजाली लगाउने कार्य गरिरहेको छ। कार्यालयका डिभिजनल इन्जिनियर रामकुमार देवले मर्मतको काम दुई दिनभित्र सम्पन्न गर्ने बताएका छन्। काम गर्ने ठाउँ साघुरो भएकाले धेरै कामदार प्रयोग गर्न नपाउँदा केही दिन बढी लागेको उनको भनाइ छ।
पुल मर्मत गरिएको स्थानमा बाढीले पुनः क्षति गर्नसक्ने भएकाले तत्कालै माथिल्लो भागमा ‘स्पर’ पनि निर्माण गरिने देवले जानकारी दिए।
महुली पुल भएर दैनिक साना–ठूला गरी करिब ३ हजार सवारी साधन आवतजावत गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।