काठमाडौं– ‘लुट’, ‘कबड्डी’ जस्ता फिल्मबाट एकाएक नेपाली फिल्म नगरीमा दबदबा कायम गर्न सफल अभिनेता हुन् दयाहाङ राई। यतिबेला उनको अभिनय रहेको फिल्म ‘भैरे’ प्रदर्शनको तयारीमा छ। फिल्म आगामी साउन ४ बाट प्रदर्शनमा आउँदै छ।
नाटक लेखन, निर्देशन र अभिनय हुँदै फिल्म क्षेत्रमा आएका दयाहाङले केही समय नेपाली फिल्म बजारमा अभिनयको जादु नै चलाए। नेपाली फिल्म बजारमा उनको माग र उनको फिल्मी मोह ह्वात्तै बढ्यो।
फिल्म लुटमा उनले गरेको अभिनय अहिले पनि उनको परिचयको पर्याय बनेको छ। उतिबेलाका केही फिल्मले प्राप्त गरेको सफलता र स्टारडमलाई पछिल्लो समयसम्म कायम राख्न भने दयाहाङ चुकेको देखिन्छ। यस विषयमा दयाहाङ स्वयं पनि सहमत छन्।
भन्छन्, ‘यतिबेला सोच्ने गर्छु, मैले दर्शकले चाहेजस्तो दिन पो सकिराख्या छुइनँ कि, अथवा समय अनुसार परिवर्तन पो हुन सकिएन कि भनेर। तर, फिल्म लुटको चर्चा अथवा कुनै सफल फिल्मको चर्चालाई जोडेर अहिलेसम्म तुलना गर्नु चाहिँ त्यति उपयुक्त जस्तो लाग्दैन।’
पछिल्ला दुई वर्ष संख्यात्मक अभिनयमा जोड दिएका दयाहाङले दर्शकको मन जित्ने अभिनय भने पस्किन सकेका छैनन्। उनको अभिनयमा निर्माण भएका र पछिल्लो समय प्रदर्शनमा आएका कुनै पनि फिल्मले उल्लेख्य सफलता पाउन सकेनन्।
दयाहाङको अहिले आलोचना हुन्छ भने, ‘राम्रा फिल्मभन्दा धेरै फिल्म खेल्यो’ भन्ने विषयलाई लिएर हुने गर्छ।
यसबारे दयाहाङको तर्क भने केही फरक छ। भन्छन्, ‘म फिल्म क्षेत्रमा छु भने मलाई सबै कुराको ज्ञान हुन जरुरी छ। नयाँ र पुराना पुस्ताका फिल्म मेकरहरुलाई मैले नजिकबाट नियाल्न सक्नुपर्छ। यसको अनुभवका लागि मैले संख्यामा जोड दिएको हुँ। पछिल्ला २ वर्ष मैले धेरै फिल्ममा अभिनय गरेँ। यो मेरो रहर नै थियो।’
‘मलाई नेपाली फिल्म क्षेत्रबाट भरपूर अनुभव लिन मन थियो। त्यसका लागि संख्यात्मक अभिनयमा जोड दिएँको हुँ,’ उनले प्रस्ट पार्दै भने, ‘नेपाली फिल्म बजारका निर्माता, निर्देशक लगायत सिंगो फिल्म बजारलाई बुझ्ने मेरो इच्छा पूरा गर्न फिल्मको संख्यालाई प्राथमिकतामा राखेको हुँ। यसबाट म सन्तुष्ट पनि छु। मलाई लाग्दैन कि यो आलोचनाको विषय हो।’
केही समयअघि नेपाली फिल्म बजार नै दयाहाङमय थियो। कुनैकुनै महिना त उनको अभिनयमा रहेका फिल्म सातापिच्छे हलमा लाग्ने गर्थे। फिल्म परिवर्तन हुन्थे, नाम परिवर्तन हुन्थे। तर, मुख्य कलाकार दयाहाङको अभिनय प्रकृतिमा दर्शकले खासै परिवर्तन महसुस गर्न पाउँदैन थिए। त्यसकै नतिजा हुनुपर्छ दयाहाङको अभिनयले दर्शकमाझ प्रभाव जमाउन सकेन।
यिनै विषयलाई बुझेर हुनुपर्छ दयाहाङ अब संख्यात्मक अभिनयबाट पातलिने सोचमा छन्। अब संख्यामा भन्दा कथावस्तुको छनोटमा जोड दिने योजनामा छन् उनी।
भन्छन्, ‘मैले धरै फिल्ममा काम गर्न छोडिसकेँ। अघिल्ला २ वर्षमा जति अनुभव लिनु थियो लिएँ। अब कथाको छनोट र गुणस्तरीय अभिनयमा ध्यान दिन्छु। कुनै बेला मलाई समयले हिट बनायो होला, तर हिट र फ्लपभन्दा पनि अब सन्टुष्टिका लागि फिल्म छानेर मात्र अभिनय गर्ने सोचमा छु।’
उनले भनेजस्तै दयाहाङको अभिनयमा रहेका फिल्महरु अहिले बजारमा कम नै छन्। केही समयअघि फिल्म ‘नेप्टे’ प्रदर्शनमा आएको थियो भने अब ‘भैरे’ प्रदर्शनको तयारीमा छ। त्यससँगै ‘साइँली’ र ‘आप्पा’मा उनी देखिनेछन्।
दयाहाङको घट्दो क्रेजलाई फिल्म ‘भैरे’ले टेको दिन सक्ला कि नसक्ला भन्ने फिल्म प्रदर्शनमा आएपछि थाहा हुने नै छ। तर, दयाहाङ आफैं त्यति विश्वस्त भने छैनन्। भन्छन्, ‘भैरे एक सामाजिक कथावस्तुमाथि बनेको फिल्म हो। यसमा भरपूर मनोरञ्जन छ। दर्शकलाई भुलाउन सक्ने कथा छ। तर, बाँकी कुरा समयले निर्धारण गर्छ।’
यस विषयमा फिल्म लुटको उदाहरण दिँदै उनी थप्छन्, ‘जतिबेला लुट प्रदर्शनमा आयो त्यतिबेला हाम्रो चाहना सय जना दर्शकले हेरेर मन पराइदिऊन् भन्ने थियो। तर, परिस्थिति अर्कै बन्यो। फिल्मसँगै आफू पनि हिट भइयो। त्यो सबै समय अनुसारको नतिजा थियो। त्यसैले भैरेले के गर्छ भन्ने कुरा समयले नै बताउनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।