काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग राख्दै अामरण अनसनमा बसेका डा गोविन्द केसीलाई साथ दिँदै केसीको जीवनरक्षाका लागि सरकारलार्इ दबाब दिन माइतीघर मण्डलामा शनिबार प्रदर्शन हुने भएको छ। माइतीघरमा आज पूर्व प्रधानन्यायाधीश, पूर्व उपकुलपति, नेता, पेशाकर्मीदेखि सर्वसाधारण जम्मा हुने भएका हुन्।
डा केसीको समर्थनमा पहिलोपटक सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ पनि सडकमा उत्रने भएका छन्। उनीसहित पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, नेताहरु गगन थापा, रवीन्द्र मिश्र, उज्ज्वल थापा, मानवअधिकारकर्मी चरण प्रसार्इ, कृष्ण पहाडी लगायत पनि सहभागी हुने भएका छन्।
डाक्टर्स, नर्स, कानुन व्यवसायी सम्मिलित १३ संघसंस्थाले समेत साथ दिने भएका हुन्।
सोलिडारिटी फर प्राडा गोविन्द केसी एलाइन्स, गंगामाया बचाउ अभियान, नेपाल मेडिकल एशोसिएसन, नेपाल बार एसोसिएसन, नेपाल प्राध्यापक संघ, नेपाल इन्जिनियर्स एसोसिएसन, आयुर्वेदिक एसोसिएसन अफ नेपाल, डक्टर्स सोसाइटी अफ नेपालसहित नेपाल नर्सिङ युनियन, पव्लिक डिफेन्स एलायन्स, हेल्थ प्रोफ्सनल अर्गनाइजेसन, काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ, गभर्मेन्ट डक्टर्स एसोसिएसन लगायत १३ संस्थाका प्रतिनिधिहरुले डा केसीकाे समर्थनमा विज्ञप्ति जारी गरिसकेका छन्।
डा अभिषेक सिंहले शनिबारको प्रदर्शनमा विभिन्न पेशाकर्मी तथा सर्वसाधारणसहित हजारौंको सहभागिता रहने जानकारी दिए।
डा केसी १६ गतेदेखि जुम्लामा आमरण अनसनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।