पोखरा– १७ वर्षको लाऊँ-लाऊँ खाऊँ-खाऊँ भन्ने उमेरमा खुमाया मगर वैदेशिक रोजगारीमा गइन्। साउदी अरबमा ६ वर्ष काम गर्दा उनले काममा खासै सास्ती खेप्नुपरेन। तर, त्यहाँबाट फर्किएर बहराइनमा ४ वर्ष काम गर्ने क्रममा भनउनको जीवनमा उथलपुथल सुरु भयो।
बहराइनमा रहँदा बाँके निवासी एक युवकसँग उनको प्रेम गाँसियो। प्रेम विवाह गरेर नेपाल आइसकेपछि पो थाहा पाइन्, त्यो युवकको पहिल्यै अर्कै घरबार रहेछ।
‘उसको घरमा श्रीमती र छोरी रहेछन् । मलाई झुक्यायो’, उनी भन्छिन्, ‘धेरै समय मुद्दा लडेपछि मात्रै मेरो छोरीको जन्मदर्ता गराएँ र सम्बन्ध विच्छेद पनि गरेँ।’ सम्बन्ध विच्छेदपछि बाँके छोडेर कास्की फर्केकी खुमाया छोरीसहित घान्द्रुकमा बस्छिन्। उनले अहिले गाउँमै वैदेशिक रोजगारीकम जान चाहने युवालाई मनोवैज्ञानिक परामर्श र अन्य सूचना दिँदै आएकी छिन्।
मादी–१, सिक्लेसका पदम गुरुङ १९ वर्षको उमेरमा कतार गएका हुन्। त्यहाँ ६ वर्ष काम गर्दा केही पैसा जोहो गरेर उनी नेपालमै व्यवसाय गर्ने सोचले फर्किए। तर, यहाँ आएपछि उनलाई लगानीको वातावरण सुरक्षित लागेन। फेरि कतार उडेका उनी २७ महिना काम गरेर फर्किए। यसपटक एजेन्टले उनलाई सपनाको देश अमेरिकाको आश्वासन देखाए।
‘परिवारले पनि जान भनेपछि म तयार भएँ’, उनी भन्छन्, ‘कुरा गरेको दुई दिनमै भिसा आउँदा छक्क परेँ।’
अमेरिकन सिपमा कामका लागि गएका गुरुङलाई ३ महिने भिजिट भिसा थमाएर थाइल्यान्डको बाटो हुँदै लगियो। थाइल्यान्डमा उनलाई ३ वर्षे अस्ट्रेलियन भिसा दिइयोे। यता घरमा हुन्डीमार्फत पैसा असुल्न थालियो।
‘हुन्डीमार्फत परिवारसँग पैसा असुल्न थालेपछि त्यसको कागजात नहुने भएकाले कतै उजुरी गर्ने कुरा पनि भएन। थाहा पाउँदापाउँदै ठगिएँ’, उनले सुनाए। थाइल्यान्डबाटै फर्किएका उनी अहिले आफू जस्तै युवाले वैदेशिक रोजगारका नाममा दुःख नपाऊन् भनेर जाने–बुझेर मात्रै विदेश जान सिकाइरहेका छन्।
मगर र गुरुङ जस्तै अहिले कास्कीका विभिन्न क्षेत्रमा १४ युवाले परामर्श तथा सूचना बाँडिरहेका छन्। उनीहरुले शुक्रबार पोखराका पत्रकारहरुसँग आफ्नो भोगाइ र अनुभव सुनाए।
उनीहरु ‘शैक्षिक रोजगारका लागि सुरक्षित आप्रवासन(सामी) परियोजना’मा परामर्शदाताका रुपमा काम गरिरहेका छन्। उनीहरुको काम सकभर विदेश नगई नेपालमै केही गर्न युवालाई प्रोत्साहन गर्नु हो।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ र ९ मा कार्यक्षेत्र रहेका मानसिंह कामी भन्छन्, ‘हामीले अहिले बिल भरपाई गरेर मात्रै आर्थिक लेनदेन गर्नुपर्छ, सीप र तालिम सिकेर मात्रै विदेश जानुपर्छ भन्ने कुरा सिकाइरहेका छौं।’
उनका अनुसार, पहिले र अहिलेको अवस्थामा युवामा धेरै चेतना आइसकेको छ।
मादी ८ र ९ कार्यक्षेत्र तोकिएका श्याम परियारले आफू ओमन जाँदा ठगिएको र त्यसरी अरु नठगिऊन् भन्ने सोचले परामर्शदाताका रुपमा काम गरिरहेको बताए। परियारको क्षेत्रमा धेरैलाई आफन्तहरुले नै ठगेकाले समस्याबारे खुलाउन नचाहेको उनको बुझाइ छ।
‘ठग्नेहरु आफन्त नै हुने भएकाले भोलिका दिनमा आफूलाई समस्या आउला भनेर गुनासो नै गर्दैनन्’, उनी भन्छन्।
आफूहरुले विभिन्न कार्यक्रम तथा सभाको अवसर पारेर वैदेशिक रोजगार सम्बन्धी पम्प्लेट र पर्चा बाँडे पनि धेरैले अविश्वास गरेको पोखरा–२५ निवासी मीनप्रसाद त्रिपाठी बताउँछन्।
‘हामीले सिकाउँदा–सिकाउँदै पनि लुकेर हामीले नगर्न भनेको काम गर्छन्, पछि उनीहरु आफै पछुताएका धेरै घटना पनि छन्’, उनले भने।
फ्रि भिसा फ्रि टिकट हो भनेर बुझाउँदा पनि आफूहरुमाथि अविश्वासकै कारण कतिपयले एजेन्टहरुलाई धेरै पैसा बुझाइरहेको उनले गुनासो गरे।
सामी परियोजना वैदेशिक रोजगारमा गएकाहरुमा कुनै समस्या नहोस् भन्ने उद्देश्यले जिल्ला समन्वयन समितिद्वारा सञ्चालित परियोजना हो। यस परियोजनामा विदेश गएर ठगिएकाहरुले नै परामर्शदाताका रुपमा काम गरिरहेको परियोजनाका संयोजक माया गुरुङले जानकारी दिइन्।
जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले निम्नवर्गका मात्र नभई माथिल्लो र शिक्षित घरानियाँ पनि वैदेशिक रोजगारीका नाममा ठगिने गरेको बताए।
‘तल्लो र अशिक्षित भनिएकाहरु खाडी मुलुकमा ठगिन्छन् तर शिक्षित र सहरिया वर्ग अमेरिका तथा युरोपेली राष्ट्रमा ठगिन्छन्’, उनले भने।
समितिले वैदेशिक रोजगारमा दुःख पाएकालाई न्याय दिलाउन सहयोग गरिरहेको उनले बताए। स्वदेशमै स्वरोजगारको अवस्था सिर्जना गरी दक्ष युवालाई पलायन हुनबाट रोक्नुपर्ने भन्दै उनले वैदेशिक रोजगारमा जानैपरे सम्पूर्ण कागजपत्रको ध्यान राख्न आग्रह समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।