काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार नजिकै भवन निर्माण गरिरहेका व्यापारीहरुले ६ वर्षसम्म पनि जग्गाको भाडा नतिरेको खुलेको छ। विमानस्थल कार्यालयले भाडा तिर्न पटक–पटक ताकेता गर्दै आएको छ।
विमानस्थलबाट ५ वर्षदेखि सुन तस्करी गरेको आरोपमा पक्राउ परेका भारतीय नागरिक विमल पोद्दार लगायत व्यक्तिहरुले भवन बनाइरहेको जग्गाको भाडा नतिरेका हुन्। २०६९ सालमा भएको सम्झौता अनुसार हरेक वर्ष भाडा तिर्नुपर्ने उल्लेख छ।
विमानस्थलको इन्टरनेसनलको आगमनतर्फ भवन र पार्किङ बनाउन ५० रोपनी जग्गा वार्षिक ७० लाख रुपैयाँमा ३० वर्षका लागि लिजमा दिने सम्झौता भएको थियो। तर, ६ वर्षसम्म पनि भाडा तिरिएको छैन। भवन निर्माण भएर भाडा लागिसकेपछि मात्र भाडा तिर्ने अडान निर्माणकर्ताहरुको छ। पोद्दारसहित आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा र कांग्रेस सांसद मोहन आचार्यले भवन निर्माण गरिरहेका छन्। रसुवा केडी ज्वाइन्ट भेन्चर कम्पनीलाई सो ठेक्का दिइएको थियो।
‘उहाँहरुले निर्माण सम्पन्न भइसकेपछि मात्र भाडा तिर्छाैं भन्नुभएको छ’, विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्री भन्छन्, ‘हामीले पहिले नै तिर्नुपर्ने बताएका छौं, दबावपछि डेढ करोड रुपैयाँ चाहिँ तिर्छाै भन्ने कुरा आएको छ।’
जग्गाको भाडा वार्षिक ७० लाख रुपैयाँका साथै विमानस्थल कार्यालयले भाडाको १५ प्रतिशत पाउने सम्झौतामा उल्लेख छ।
समयमा भाडा नतिरेपछि हालै विमानस्थल कार्यालयले कम्पनीलाई जरिवाना समेत गरेको छ। सो कम्पनीले ६ वर्षको करिब ४ करोड ६० लाख रुपैयाँ तिर्नुपर्ने विमानस्थल कार्यालयका महाप्रबन्धक क्षत्रीले बताए।
२१ महिनाको ठेक्का, ६ वर्षमा पनि भएन पूरा
भवन, पार्किङ लगायतका संरचना बनाउन २०६९ कात्तिक २ गते सम्झौता भएको थियो। २१ महिनाभित्र काम सम्पन्न गर्नेगरी सम्झौता भएको थियो। तर, ६ वर्ष पुग्दा पनि काम अझै सकिएको छैन।
‘मैले आज मात्र काम छिटो सम्पन्न गर्न कडा पत्र पठाएको छु’, महाप्रबन्धक क्षत्रीले गत मंगलबार नेपाल लाइभसँग भने। समयमा काम सम्पन्न नहुँदा विमानस्थलको आगमनतर्फ व्यवस्थापन गर्न समस्या भइरहेको छ। साथै, भाडाबापतको १५ प्रतिशत पनि विमानस्थल कार्यालयले गुमाउनुपरेको छ।
५ वर्षसम्म विमानस्थलबाट सुन तस्करी गर्दै आएको विवादास्पद व्यापारी पोद्दारको समूहलाई विमानस्थलभित्रै भवन निर्माणको जिम्मा दिइएको खुलेपछि धेरै चकित भएका छन्।
नेपाल लाभइले यस सम्बन्धी समाचार प्रकाशन गरेपछि प्रहरी अधिकारीहरुले सो समूहलाई भवन बनाउन र सञ्चालन गर्न दिन नहुने बताएका छन्। यसले विमानस्थलको सुरक्षा चुनौती बढाउने प्रहरी अधिकारीहरु बताउँछन्।
सम्बन्धित समाचारः विमानस्थलभित्रै भवन बनाउँदै सुन तस्करीका अभियुक्त
सनम शाक्य तथा सुन तस्करी प्रकरणमा सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले पोद्दारलाई तीन साताअघि पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई संगठित अपराध मुद्दामा थप अनुसन्धान र कारबाही अघि बढाएको छ।
उनको समूहले ५ वर्षमा विमानस्थलबाट कम्तीमा ३८ सय केजी सुन तस्करी गरेको थियो। उनी जस्ता व्यक्तिले विमास्थलभित्रै भवन सञ्चालन गरेपछि तस्करी लगायत अवैध गतिविधि बढ्न सक्ने प्रहरीको चिन्ता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।