काठमाडौं– चोरी पैठारीका वस्तु बिक्री वितरण गर्न नक्कली बिलबिजक प्रयोग गरेर आठ करोड रुपैयाँ राजस्व घोटाला भएको पाइएको छ।
उक्त घोटाला मुद्दामा राजस्व अनुसन्धान विभाग, बुटवलले दुई जना विरुद्ध झन्डै साढे १७ करोड रुपैयाँ धरौटी माग गरेको छ।
उक्त परिमाणको राजस्व चुहावटको मुद्दामा विभागले भारतीय नागरिक राजेन्द्र शर्मालाई मुख्य अभियुक्त र भैरहवामा कार्यालय रही महेशपुर नवलपरासीबाट कारोबार गर्ने जय मातादी ट्रेडर्सका साविर कुसडालाई अभियुक्त बनाएको छ।
अभियुक्तहरूले जय मातादी ट्रेडर्सको नामबाट नक्कली कारोबार गरेको पाइएको विभागले बताएको छ।
उनीहरूले आठ करोड १७ लाख रुपैयाँ राजस्व घोटाला गरेको दाबी विभागले गरेको छ। उनीहरूसँग १६ करोड ३५ लाख २९ हजार रुपैयाँ धरौटी माग गरी थुनामा पठाइएको छ।
राजस्व चुहावट नियन्त्रण ऐन २०५२ मा राजस्व चुहावट मुद्दामा बिगोको दोब्बर सजाय हुने व्यवस्था छ। सोही बमोजिम दोब्बर धरौटी माग गरिएको विभागले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।