काठमाडौं– शुक्रबारबाट हलहरुमा ४ नयाँ फिल्म प्रदर्शनमा आएका छन्। विगत ३ हप्तादेखि सुनसान नेपाली सिनेबजार शुक्रबारबाट पुनः गर्माएको हो।
विश्वकप फुटबल २०१८ तथा बलिउड फिल्म रेस ३ र सञ्जुको प्रत्यक्ष प्रभावका कारण फिल्म प्रदर्शन गर्न पछि हटेका निर्माता तथा निर्देशकहरु शुक्रबारबाट भने सक्रिए देखिएका हुन्। शुक्रबारबाट फिल्म विराङ्गना, बोबी, बाबु कान्छा र यो पागल मन गरी ४ फिल्म देशैभर एक साथ प्रदर्शनमा आएका छन्।
एकै दिनमा ४–४ वटा फिल्म प्रदर्शनमा आँउदा नेपाली फिल्म बजारमा पर्ने असरका सम्बन्धमा भने सोचिएको पाइँदैन। एकैदिन धेरै फिल्म हलमा लाग्दा सानो फिल्म बजार रहेको हाम्रोजस्तो देशमा एकातिर दर्शकको अभाव तथा अर्कातिर फिल्महरुले प्रदर्शनका लागि हल र स्क्रिन पाउनै मुश्किल हुने गरेको छ। तर प्रदर्शनमा आएका ४ मध्ये दर्शकको रोजाइमा कुन फिल्म पर्ने त्यसका लागि भने केही दिन कुर्नैपर्ने हुन्छ।
शुक्रबारबाट प्रदर्शनमा आएका फिल्महरुः
विराङ्गना
नारीप्रधान फिल्म ‘विराङ्गना’ विरताको कथावस्तुमा निर्माण गरिएको फिल्म हो। सशस्त्र प्रहरीको जीवनगाथा र महिलाहरुले देखाउने विरतामाथि केन्द्रित रहँदै फिल्म तयार गरिएको फिल्मका निर्देशक राजबाबु साने बताउँछन्।
फिल्ममा शिल्पा पोखरेल र अनुपविक्रम शाही मुख्य पात्रको रुपमा सशस्त्र प्रहरीको भूमिकामा देखिँदै छन्। शिल्पाको ‘एक्सन’ अन्दाज यस फिल्ममा पनि देख्न सकिने निर्देशक सानेले जानकारी दिए। शिल्पा र अनुपका साथमा फिल्ममा पृथ्विराज प्रसाईं, प्रज्वल गिरि, प्रिया रिजाल, कृष्ण शिवाकोटी लगायतको अभिनय रहेको छ।
निर्माण पक्षका अनुसार ‘विराङ्गना’ले शुक्रबार देशभरका ८० स्क्रिनमा प्रदर्शनको मौका पाएको छ। उपत्यका र काभ्रेमा मात्रै ८ मल्टिप्लेक्ससहित २१ हलमा फिल्म प्रदर्शनमा आउँदै छ।
बोबी
वास्तविक प्रेम कथामा निर्माण भएको फिल्म ‘बोबी’ पनि शुक्रबारबाट प्रदर्शनमा आएको छ। ललितपुरका उमेश थापा र पोखराकी कविता गुरुङको २० वर्षअघिको वास्तविक प्रेम कथालाई स्क्रिनिङ गरिएको छ। थापा र गुरुङ दुवैले आफ्नो कथामा आँफै अभिनय गरेका छन्। फिल्मको बुधबार साँझ प्रिमियरसमेत गरिएको थियो।
नर्वे र नेपालका विभिन्न स्थानमा छायांकन गरिएको ‘बोबी’लाई मिलन चाम्सले निर्देशन गरेका हुन् भने फिल्मको पटकथा नरेश भट्टराई र गिरिराज घिमिरेले तयार गरेका हुन्। फिल्ममा उमेश र कवितासहित विजय लामा, रुवी राणा शाह, देशभक्त खनाल, रश्मी भट्ट, सुरविर पण्डित लगायतको अभिनय रहेको छ।
फिल्मले देशभरका मल्टीप्लेक्स हलहरुमा ४० सो प्राप्त गरेको छ। उपत्यकामा १८ र उपत्यका बाहिर २२ सो प्राप्त गरेको निर्देशक चाम्सले नेपाल लाइभलाई बताए। चाम्सका अनुसार फिल्म यो हप्ता मल्टीप्लेक्स हलहरुमा र अर्को हप्तादेखि मात्रै सिङगल थिएटरमा प्रदर्शनमा आउने छ।
बाबु कान्छा
सलोन बस्नेत र करिस्मा श्रेष्ठ अभिनित फिल्म ‘बाबु कान्छा’ पनि शुक्रबारबाट प्रदर्शनमा आएको छ। सलोनको बाल्यकालको कथावस्तुसँग जोडेर तयार पारिएको बाबु कान्छामा शोभित बस्नेतको लेखन, निर्देशन तथा निर्माण रहेको छ।
प्रेम र एक्सनका दृष्य समावेश फिल्ममा सलोन, करिष्मासँगै सरोज खनाल, रितिक साह, निर साहलगायतको अभिनय देख्न सकिन्छ।
यो पागल मन
त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म ‘यो पागल मन’ पनि आजैबाट प्रदर्शनमा आएको छ। फिल्ममा विनोद न्यौपाने र ऋचा सिंह ठकुरीको मुख्य अभिनय रहेको छ।
लामो समयदेखि प्रि तथा पोस्ट प्रोडक्सनमा रहेको फिल्ममा न्यौपानेको डेव्यु अभिनय हो भने ठकुरी ५ वर्षपछि पर्दामा देखिँदै छिन्। फिल्ममा विनोद, ऋचासँगै गौरी मल्ल, राजेश मल्ल लगायतको अभिनय रहेको छ। अर्जुन पोखरेलको संगीत रहेको यस फिल्मलाई कल्याण अधिकारीले निमार्ण तथा निर्देशन गरेका हुन्।
प्रचारप्रसारमा केही पछि परेको फिल्म ‘यो पागल मन’ले शुक्रबार उपत्यकामा ७ वटा हलहरुमा २÷२ शो र उपत्यका बाहिर १२ वटा हलमा १ शो मात्र पाएको छ।
फिल्मले कम शो पाएकोमा निर्देशक अधिकारी केही रुष्ट देखिएका छन्। आफुले अन्य ३ फिल्मभन्दा अघि नै प्रदर्शन मिति तय गरेपनि त्यसपछि अन्य फिल्महरुले सोही मिति तय गर्नाले आफुसहित सिंगो फिल्म क्षेत्रमा नकारात्मक असर परेको तर्क गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।