काठमाडौं– डा गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रेका डाक्टरहरुले आज माइतीघर मण्डलामा बिरामी जाँच्ने भएका छन्। त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक र इन्टर्न डाक्टरहरुले माइतीघर मण्डलामा ओपिडी सेवा दिने भएका हुन्। उनीहरुले शिक्षण अस्पतालमा भने आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्।
१४ दिनदेखि जुम्लामा आमरण अनशनरत डा केसीको माग सुनुवाइ गर्न सरकारले चासो नदिएको र जीवन रक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै उनीहरुले आकस्मिक बाहेकका सेवा बहिस्कार गर्ने घोषणा गरेका हुन्।
ओपिडी सेवा भने माइतीघरमा दिने निर्णय भएको आवासीय चिकित्सकहरुको संस्था नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा सुमित पाण्डेले जानकारी दिए। उनका अनुसार माइतीघरमा १० बजेदेखि ओपिडी सेवा सुरु हुनेछ।
अध्यक्ष पाण्डे र सचिव डा विश्वराज तिमल्सिनाले एक विज्ञप्ति जारी गर्दै सरकार मौन बस्नुले आफूहरु स्तव्ध भएको भन्दै आन्दोलनको कार्यक्रम गर्नुपरेको उल्लेख गरेका छन्।
हडतालबाट हुने असुविधा तथा क्षतिको जिम्मेवार सरकार आफैं रहने विज्ञप्तिमा उल्लेख छ। एसोसिएसनले धेरै दिनदेखि धैर्य गरेर कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रम गर्दा सरकारले नसुनेपछि कठोर कदम चाल्न बाध्य भएको उल्लेख गरेको छ।
एसोसिएसनमा ३ सयभन्दा बढी आवासीय चिकित्सक आबद्ध छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।