कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जासुसी क्यामेराको सहायताले चोरी शिकारमा संलग्नलाई पक्राउ गर्न थालेको छ।
चोरी शिकार हुन सक्ने सम्भावित नाकामा क्यामेरा जडान गरी निकुञ्ज कार्यालयले संरक्षित वन्यजन्तु, दुर्लभ जडीबुटी र काठ तस्करी रोक्नका लागि काम अगाडि बढाएको छ। निकुञ्जका विभिन्न ठाउँमा क्यामेरा राखिएका छन्।
क्यामेराले निगरानी बढाउन थालेपछि चोरी शिकारका घटना न्यूनिकरण गर्न निकै टेवा पुगेको निकुञ्जका कार्यवाहक मुख्य संरक्षण अधिकृत गोपाल घिमिरेले बताए। ‘दुई साताअघि मात्रै निकुञ्जको बागफाँटास्थित लगरघाट नजिक चोरी शिकारमा संलग्न भीमदत्तनगरपालिका–१९ का लौटन चौधरी र अमरसिंह रानालाई भरुवा बन्दूकसहित पक्राउ गरेका छौँ।’, उनले भने, ‘क्यामेरामा दुवैले लगुना मारेर फर्किंदै गरेको अवस्थामा देखिएपछि पक्राउ गरिएको हो। राति १० बजे दुवै क्यामेरामा देखा परे, सोही आधारमा खोजतलास गर्दा १२ बजे निकुञ्जबाटै दुवैलाई पक्राउ गर्न सक्यौँ।’
हाल दुवै जना निकुञ्जको हिरासतमा छन्। क्यामेरा राखिएपछि निकुञ्ज संरक्षण गर्न निकै सहज भएको अधिकृत घिमिरेको भनाइ छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।