काठमाडौं– सिन्धुपाल्चोक जिल्लाको टिपेनीबाट मानेखर्कतर्फ जाँदै गरेको बोलेरो जिप गएराति दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ८ जना गम्भीर घाइते भएका छन्।
राति ८:२० काे समयमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ को मेलम्ची–मानेखर्क सडकखण्डअन्तर्गत सल्लेडाँडामा जिप दुर्घटनामा परेकाे हाे। लु१ख ९९९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट झण्डै ४ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए।
दुर्घटनामा परी एकै गाउँका ५ को मृत्यु भएकाे हाे। जसमध्ये ४ महिला र १ पुरष रहेका छन्। प्रहरी प्रमुख पोखरेलका अनुसार मृत्यु हुनेहरुमा थाङपाल गाउँपालिका–३ की नानी तामाङ(५३ वर्ष), जयरानी तामाङ(६० वर्ष), भीमबहादुर तामाङ(६५ वर्ष), बोदोम तामाङ(५६ वर्ष) र सुनमाया तामाङ(२५ वर्ष) रहेका छन्।
दुर्घटनामा गम्भीर घाइतेहरुको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि राति नै काठमाडौं ल्याइएको थियो। उनीहरुकाे नेपाल मेडिकल कलेज, जाेरपाटीमा उपचार भइरहेकाे छ।
दुर्घटनापछि घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको नाइट भिजन हेलिकाेप्टर पुगेपनि खराब मौसमका कारण अवतरण गर्न नसक्दा फर्किएको प्रहरी प्रमुख पोखरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।