पटना–पोखरा सीधा हवाई यात्रा सञ्चालन गर्न सुझाव

Nepal Live

पोखरा– पोखरेली पर्यटन व्यवसायीले विहार तथा आसपासका पर्यटकलाई गर्मी छल्न पोखरा आउन निम्तो दिएका छन्। 

पश्चिमाञ्चल होटेल संघको आयोजना एवम् नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धनमा बुधबारदेखि सुरु ‘चलिए पोखरा’ अभियानसहित बिहीबार पटना पुगेको टोलीले पत्रकार भेटघाटमा गर्मी छल्नका लागि भारतीयको उपयुक्त गन्तव्य पोखरा हुने बताउँदै पोखरा आउन आग्रह गरेका हुन्। सो क्रममा उनीहरुले ३ हजारदेखि १३ हजार भारतीय रुपैयाँसम्मको खर्च लाग्ने विवरण सार्वजनिक गरेका थिए।

नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख सूर्य थपलियाले पोखरा सेप्टेम्बरदेखि फेब्रुअरीसम्म उपयुक्त समय भए पनि भारतीय पर्यटकका लागि वर्षात् पनि उपयुक्त हने धारणा राखे।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले विहारी धर्मसंस्कृति नेपालसँग मिल्दोजुल्दो भएको बताए।

टुरिज्म एसोसियसन विहारका अध्यक्ष सञ्जय शर्माले भारतीय पर्यटकलाई सीमा नाकामा धेरै नै दुःख दिने, अपमान गर्ने तथा झञ्झट लगाउने गुनासो गर्दै बसमा गएका भारतीय पर्यटकलाई जुनसुकै शहरमा निर्धक्क जाने र एकपटक कर तिरेपछि अन्य ठाउँमा कर नलाग्ने गरेमा नेपाल आकर्षक गन्तव्य हुने सुझाव दिए। पटनादेखि पोखरा सीधा हवाई यात्रा सञ्चालन गर्न सके पर्यटकको वृद्धि हुने उनको विश्वास छ। 

उनले पोखराका होटलको सेवा शुल्क बढी भएको औँल्याउँदै उक्त शुल्क कायम रहे भारतीयहरु नेपालको सट्टा थाइल्याण्ड जान सक्ने भएकाले केही रकम घटाउन व्यवसायीलाई सुझाव दिए।

पटनाका पर्यटन व्यवसायी गौरव कुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ गएपछि विहारीको चासो बढेको र जाने चाहना व्यक्त गर्ने गरेको बताए। उनले पटना–पोखरा हवाई यात्रा सुरु भएमा १० देखि १५ प्रतिशत पर्यटक वृद्धि हुने विश्वास व्यक्त गरे। रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार