काठमाडौं– गलत रिपोर्ट नबनाएको निहुँमा ‘अपहरण शैली’मा गृह मन्त्रालय पुर्याइएका डा भोजराज अधिकारीले आफू अझै त्रस्त रहेको बताएका छन्। स्वास्थ्य खबरसँगको लाइभ अन्तर्वार्तामा उनले त्रसित मनोदशामा पटक–पटक दोहोर्याए– नेपाल हो, जे पनि हुन सक्छ।
द्वन्द्वकालमा घाइते भएकाहरुको अपांगता सर्टिफिकेट उनीहरुले चाहेअनुसार नबनाइदिएपछि आफूलाई गृह मन्त्रालय पुर्याएर दुर्व्यवहार गरिएको उनले बताएका छन्। मंगलबार उनलाई गृहमन्त्री रामबहादुर थापा वादलका राजनीतिक सल्लाहाकार सूर्य सुवेदी पथिकले आफूले भनेअनुसारको रिपोर्ट बनाउन मन्त्रालय बोलाएर दबाब दिएका हुन्। ट्रमा सेन्टरमा आइपुगेका केही घाइतेलाई आफूले सरकारी कार्यविधिभन्दा बाहिर गएर रिपोर्ट नबनाउने बताएपछि डा अधिकारीलाई ट्रमा सेन्टरमै दुर्व्यवहार भएको थियो। उनले कुराकानीका क्रममा भने, ‘साढे १२ तिर ८/१० जना आएर मेरो कोठाको चुकुल लगाए। उनीहरुले हामीले जे भन्छौं, त्यही लेख्न भनेर दबाब दिए।’
आफूले नियमबाहिर गएर काम नगर्ने बताए पनि उनीहरुले दबाब दिइरहेको र खान नखाएको बहानामा फुत्किएको बताए। त्यसपछि गृहमन्त्रालयबाट तुरुन्तै त्यहाँ आइपुग्न फोन आएको उनी बताउँछन्। बिरामी हेर्न बाँकी रहेको र गाडी नभएकाले आउन असमर्थ बताउँदा मन्त्रालयबाट गाडी पठाएर आफूलाई लगिएको उनले जानकारी गराए। ‘गिरफ्तार हो कि के हो भनेर मैले सोधें,’ उनले भने, ‘सोधपुछ हो भनेर गाडीमा हालेर लगियो।’
मन्त्रालय पुगेपछि भने झन्डै दुई घन्टा कुराएको र दुर्व्यवहार गरेको उनले कुराकानीमा बताए। उक्त घटनाले आफूलाई त्रस्त बनाएको बताउँदै उनले भने, ‘ममाथि जे पनि हुन सक्छ। तर, मलाई मात्रै होइन, अरुलाई पनि परेको होला भनेर घटना बाहिर ल्याएको हुँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।