ad

जापानमा बाढी र पहिरोबाट १ सय ९९ को मृत्यु, वर्षा केही दिन जारी रहने

Nepal Live

टोकियो– जापानको पश्चिमी क्षेत्रमा केही दिनयतादेखि जारी वर्षाका कारण बुधबार बिहानसम्ममा १ सय ९९ जनाको मृत्यु भएको छ। 

जापान सरकारका प्रमुख प्रवक्ताले बिहीबार सो जानकारी दिएका हुन्। बुधबार बिहानसम्म मृत्यु हुनेको संख्या १ सय ९९ पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था, एनएचकेले पनि पुष्टि गरेको छ। 

अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्वार कार्य सुचारु गर्न सकिएको छैन। यस प्रकोपमा परी अझै पनि दर्जनौँ व्यक्ति हराइरहेका बताइएको छ।

मौसमविद्ले वर्षा अझै केही दिन नरोकिने जनाएकोले पहिरोको जोखिममा रहेका स्थानबाट स्थानीय व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको थियो। 

हराएकाको खोजी तथा उद्धारकार्यमा सयौँ सेना तथा प्रहरी परिचालन गरिएको छ। जापानको क्योदो समाचार संस्थाका अनुसार मृत्यु हुनेहरुमा धेरैजसो पहिरोमा पुरिएका तथा बाढीमा परेका छन्। 

जापानको राजधानी टोकियोदेखि ६ सय किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको बताइएको छ। हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप जारी छ। 

जापानी अधिकारीहरुले यहाँ गएको तीन दशकपछि पहिलो पटक यति ठूलो मात्रामा वर्षा भएको जनाएका छन्। ती अधिकारीहरुकाअनुसार मौसमविद्हरुले बाढीको जोखिम अझै कायमै रहेको जनाएका पनि बताएका छन्। 

टोकियोको बाहिरी इलाकाहरुमा पनि अविरल मात्रामा वर्षा भएको छ। सो वर्षामा परी टोकियोमा कसैको ज्यान नगएको भए पनि पहिलेका तुलनामा पानीको मात्रामा भने वृद्धि भएको बताइएको छ। रासस/एएफपी

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार