काठमाडौं– गुन्डागर्दीको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई प्रहरीले दबाबमा छाडेको छ। जिल्ला प्रशासन कार्यालयबाट थुनामा राख्ने म्याद लिएर पनि बिहीबार पक्राउ परेका सत्यमान लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंले छाडेको हो।
परिसरको टोलीले उनलाई बालुवाटारबाट पक्राउ गरेको थियो। व्यापारीलाई धम्काएको र हप्ता असुलेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। सोही आधारमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएका थिए।
तर, सत्तारुढ दलका नेताहरुको दबाब झेल्न नसकेर प्रहरीले उनलाई बिहीबार नै छाडिदिएको छ। नेकपाकी सांसद नवीना लामा आफैं प्रहरी कार्यालय पुगेर उनलाई छुटाएकी हुन्।
काठमाडौं परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले दबाबमा भन्दा पनि प्रमाण नभेटिएकाले लामालाई छाडिएको बताए। ‘दिनभर अनुसन्धान गर्दा पनि प्रमाण भेटाउन नसकेपछि हाजिरीमा छाडेका हौं,’ उनले भने,‘सार्वजनिक अपराध मुद्दा दर्ता त भइसकेको छ।’ लामालाई सांसद नवीना लामाको जिम्म लगाएर छाडिएको एसएसपी पोखरेलले बताए।
स्रोतका अनुसार लामाले धम्काएको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो। तर, एक दिन समेत थुनामा नराखी छाडेकोमा उनलाई पक्राउ गर्ने प्रहरी अधिकारीले नै अनौठो मानेका छन्। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गुन्डागर्दीविरुद्ध कडा रुपमा प्रस्तुत हुन निर्देशन दिइरहेका बेला पक्राउ परेकै दिन अभियुक्त छुट्नुलाई अनौठो रुपमा लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।