काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले अहिले प्रधानमन्त्रीले गरिमा देखाउने समय भएको बताएका छन्। आज संसद्मा बोल्दै गिरिले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा कुलप्रसाद कोइरालालाई त्रिभुवन विमानस्थलबाट बालुवाटार पुर्याइएकोमा विरोध गरे।
'केपी ओली आज दक्षिण एसियाकै सर्वाधिक शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ। दुनियाँले उहाँलाई हेर्दै छ। कांग्रेस पराजित छ। कांग्रेसले धृष्टता गरे हुन्छ। पराजयमा धृष्टता गर्नु भनेर हामीलाई संसदीय परम्पराले सिकाएको छ', उनले भने, 'तर, विजयमा गरिमा हुनुपर्छ। यो प्रधानमन्त्रीले गरिमा देखाउने बेला हो। कुलप्रसाद कोइरालाजस्तो साधारण नागरिकलाई तागत र तुजुक देखाउने बेला होइन।'
उनले लोकतन्त्रमा सरकार जनतासँग डराउने बताए। 'लोकतन्त्र एउटा त्यस्तो व्यवस्था हो, जुन व्यवस्थामा जनतासँग सरकार डराउँछ। तानाशाही एउटा त्यस्तो व्यवस्था हो, जहाँ सरकारसँग जनता डराउँछन्', गिरिले थपे, 'कोइरालाको गिरफ्तारीले केही गरेन। कतै हिँड्न आँटेको एउटा साधारण नागरिकलाई, जो उपकुलपति पनि थिए। उनलाई प्रधानमन्त्रीले बोलाएको भनेर ल्याइयो। अरु केही गरिएन। एकछिन राखियो अनि छाडियो। यो के हो?'
उनले कोइरालाको गिरफ्तारी जनता तर्साउने कुरामा सीमित भएको बताए। 'कोइरालाको समस्या, एउटा नागरिकको अपमानको समस्या, अकारण कुलपतिलाई बेइज्जत गरेको समस्या सरकार जनतासँग डराउँछ कि, सरकार जनतासँग डराउँछ भन्ने प्रश्नको उत्तर हो। त्यसको कुनै उद्देश्य छैन', उनले थपे, 'यो मात्र जनता तर्साउने कुरामा सीमित छ। तर, जनता तर्सिदैनन्।'
त्यतिबेला कुनै कारणवश प्रधानमन्त्रीको अन्जानमा यो घटना घट्न गएको भए कम्तिमा सम्बन्धित व्यक्तिलाई एकपटक फोन गरेर आफूलाई दुःख लागेको भन्नुपर्ने गिरिले बताए।
'होइन भने सदनका प्रत्येक सदस्यले यो कुरा बुझ्नुपर्छ, बुढी मरी भन्ने पीर होइन, बाघ पक्कियो भन्ने पीर हो', उनले भने, 'अकारण एउटा मान्छेलाई फर्काएर ल्याएर प्रधानमन्त्री व्यस्त हुनुहुन्छ, तपाईं आफ्नो बाटो जानुस् भन्न पाइन्न।'
कानुनले अन्यथा नभनेसम्म प्रजातन्त्रमा एउटा व्यक्तिको अधिकार प्रधानमन्त्रीको अधिकार सरह हुने गिरिले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।