इटहरी– सुनसरीको दुहबी नगरपालिकास्थित राधाकृष्ण मन्दिरको जग्गा जनप्रतिनिधि र भू–माफियाको मिलेमतोमा सस्तो मूल्यमा बिक्री गरिएको छ। मन्दिरको नाममा रहेको १४ कट्ठा १ धुर सार्वजनिक जग्गा मन्दिर व्यवस्थापन समिति र भूमाफिया मिलेर कौडीको भाउमा बिक्री गरेको तथ्य बाहिर आएको हो।
साविक सोनापुर–२ र हाल दुहवी नगरपालिका वडा नम्बर ८ मा रहेको श्री राधाकृष्ण मन्दिरको जग्गा सरकारी मूल्यभन्दा कम दरमा बिक्री भएको खुलासा भएको छ। कित्ता नं. १३ को राजमार्गमै जोडिएको जग्गा बिक्री भएको हो।
सरकारी मूल्य अनुसार प्रतिकठ्ठा ८ लाख र चलनचल्तीको मूल्य अनुसार १५ लाखभन्दा बढी मूल्य पर्ने जग्गा सुटुक्क बिक्री गरिएको स्थानीय बलभद्र ऋिशिदेव बताउँछन्। उनी मात्र होइन अन्य स्थानीयले पनि मन्दिरको जग्गा सस्तोमा बेचेको भन्दै आक्रोश व्यक्त गरेका छन्। मन्दिर व्यवस्थापन समिति र माफियाको ‘सेटिङ’मा सार्वजनिक जग्गा हचुवामा कारोबार भएको भन्दै स्थानीयहरु रुष्ट छन्। वडा नं. ८ का वडासदस्य विनय दाहाल पनि मन्दिरको जग्गा बिक्री गरेर माफियालाई प्रश्रय दिइएको बताउँछन्।
हाल प्रतिकट्ठा १५ लाखका दरले हिसाब गर्दा २ करोड १० लाख मूल्य पर्ने जग्गा ५४ लाख ३५ हजार ५ सय ५० रुपैयाँमा स्थानीय जग्गा कारोबारी गोविन्दबहादुर बगजाईंलाई बेचिएको छ। यो हिसाबमा चलनचल्तीको भाउभन्दा १ करोड ५६ लाख हाराहारी कम मूल्यमा बिक्री गरेर बाँकी रकम चलखेल गरिएको स्थानीयको आरोप छ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिमालय मानन्धर, सचिव रामप्रसाद राई र जग्गा व्यापारी गोविन्दबहादुर बजगाईंको मिलेमतोमा जग्गा खरिद–बिक्रीको निर्णय भएको हो। २०७५ वैशाख ४ मा बसेको मन्दिर व्यवस्थापन समितिको बैठकले मन्दिरको १४ कट्ठा १ धुर जग्गा बिक्री गर्ने निर्णय गरेको खुलेको छ। सोही निर्णय अनुसार योजनाबद्ध रूपमा जग्गा बिक्री गरिएको पाइएको छ।
यसरी मन्दिरको धर्मशाला निर्माणको जमिन दलाललाई बिक्री गरेको मन्दिर व्यवस्थापन समितिलाई दुहबी नगरपालिकाले समेत सहयोग गरेको खुलेको छ। दुहबी नगरपालिका वडा नम्बर ८ को वडा कार्यालयले २०७५ असार १३ मा जग्गा बिक्रीका लागि सिफारिस गरेको छ।
प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २०७४ चैत्र ८ मा मन्दिर, गुठीको जग्गा नबेच्न सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको थियो। तर, स्थानीय जनप्रतिनिधिले उक्त निर्णयको समेत धज्जी उडाउँदै दुहबीमा मन्दिरका लागि दाताले दिएको जग्गा दलाललाई बिक्री गरेका हुन्।
यता, व्यवस्थापन समिति अध्यक्ष मानन्धर भने मन्दिरको विधान अनुसार जग्गा बिक्री गरेको बताउँछन्। उनी भन्छन, ‘मन्दिरको जग्गा बिक्री गर्न पाउने विधान छ, त्यही कारणले बिक्री गरेका हौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।